२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । गत हप्तावाटनै उकालो लय समातेको नेप्सेले आज छैठौं दिन पनि निरन्तर उकालो यात्रानै तया गरेको छ ।
यस साताको आज चौथोदिन बुधवारको कारोवार समेत १६.४२ अंक ले बढेर २०३७.०६ मा पुगेर रोकिएको छ । यस दिन कारोबार अवधिको दोश्रो प्रहरमा गएर विक्रि चाप बढ्दै गएको थियो । बजार बढेको मौकामा लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा सो समयमा बिक्रीचाप बढी नेप्से सामान्य अंक नकारात्मक भएको थियो । तर, अन्तिम समयमा खरिदकर्ता आक्रमक भएपछि नेप्से पुनः सकारात्मक भइ बन्द भएको हो ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । यस दिन २७५ स्टकको ७९ हजार ४६१ पटकको कारोबारमा ५ अर्ब १ करोड ७८ लाख रुपैयाँ बराबरको १ करोड २५ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन खप्तड लघुवित्त वित्तीय संस्था र सिटि होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, यस दिन भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ५.६२ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २८ करोड १७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको २४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.३५ प्रतिशत बढेको छ भने बैंकिङ्ग, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको हो ।