साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा सामान्य बृद्धि

 अर्थ बुलेटिन   ३२ जेठ, २०८०



काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। कारोबारको अधिकांश समय नकारात्मक रहेको नेप्से, अन्तिम समयमा भने बढेर बन्द भएको हो।

यस दिन कारोबारको साढे ३ घण्टासम्म नेप्से परिसूचक घटेको थियो। निरन्तर सात कारोबार दिन नेप्से बढेपछि लगानीकर्ताहरुले नाफा सुरक्षित गरेपछि नेप्सेमा इन्ट्रा डे करेक्सन भएको हो।

बिहीबार नेप्से परिसूचक ५ अंक बढेर २०४२.०७ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३६ अंक बढेको छ।

नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७० स्टकको ५२ हजार ८१४ पटकको कारोबारमा ३ अर्ब १६ करोड २८ लाख रुपैयाँ बराबरको ७८ लाख ९६ हजार कित्ता शेयर कारोबार भएको छ।

यस दिन सिटि होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो होटलको शेयरमूल्य यस दिन १६ रुपैयाँ २० पैसा बढेर १७८ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन अभियान लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने बिपिडब्लु लघुवित्त र कालिका लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ५.८६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यसैगरी, यस दिन सोल्टी होटलको १६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको करिब १५ करोडको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक २.९२ प्रतिशत बढेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक १.३६ प्रतिशत बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.७४ प्रतिशत घटेको छ।

Source: https://merolagani.com/NewsDetail.aspx?newsID=92662



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation