२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं, श्रावण ७ । नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको मौद्रिक नीतिमा शेयर तथा घरजग्गा कर्जाको जोखिमभार पुनरावलोकन गर्ने व्यवस्था गरेसँगै आइतवार शेयर बजार भारि अंकले बढेको छ ।
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । मौद्रिक नीति सार्वजनिक हुनु अघिसम्म २० अंक बढेको बजार, सार्वजनिक भएपश्चात ४३ अंक बढेको छ । यस दिन नेप्से परिसूचक समग्रमा ६३.२४ अंक बढेर २२२७.२४ विन्दुमा पुगेको छ ।
यस दिन सेन्सेटिभ इण्डेक्स १४.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.५१ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६६ स्टकको ७५ हजार ८६ पटकको कारोबारमा ४ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ बराबरको १ करोड २० लाख २ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आइतबार तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन किसान लघुवित्त, चन्द्रागिरी हिल्स र लिबर्टी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन स्वरोजगार लघुवित्त, ग्लोबल आइएमई बैंक र कालिञ्चोक दर्शको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको एनआईबिएल ग्रोथ फण्डको इकाई भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १४ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन ज्योति विकास बैंकको करिब १४ करोडको शेयर कारोबार भएको छ भने ग्लोबल आइएमई बैंकको १२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ४.९८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।