२३ माघ, २०८१ | 05 Feb, 2025
श्रावण ८, काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट शेयर बजार दोहोरो अंकले घटेको छ। सोमबार शेयर कारोबार मापक सूचक नेप्से २६.६६ अंकले घटेर २२००.५० अंकमा ओर्लिएको छ।
गत वर्ष भने मौद्रिक नीतिको दिन शेयर बजार घटेको थियो भने भोलिपल्टदेखि केही दिन शेयर बजार बढेको थियो।
यसवर्ष जस्तै गत वर्ष पनि मौद्रिक नीतिले शेयर बजारलाई केही खुकुलो गर्ने नीति लिन्छ भन्ने लगानीकर्ताको अपेक्षा थियो। तर लगानीकर्ताले सोचे जस्तो नीति केन्द्रीय बैंकले नलिने सङ्केत भने शेयर बजारले सोही दिन घटेर गरेको थियो। मौद्रिक नीतिको दिन शेयर बजार घटेको भएपनि त्यसको भोलिपल्टदेखि शेयर बजार केही दिन उकालो लागेको थियो। मौद्रिक नीति सार्वजनिक भएको दिन घटेर २०१७.४५ अंकमा ओर्लिएको बजार भोलिपल्ट भने ६१ अंकले बढको थियो। भोलिपल्टै ६१ अंकको फड्को मारेको बजारले पर्सीपल्ट थप ५४.४५ अंकको वृद्धि कायम गरेको थियो। जुन वृद्धि कायम गर्दै गर्दा सूचक एक साताको अन्तरालमा १७८.७९ अंकले बढेको थियो।
तर यस पटक भने सूचकले ठीक उल्टो प्रतिक्रिया दिएको छ। मौद्रिक नीति सार्वजनिक भएको दिन उचालिएको शेयर बजार भोलिपल्टै घटेको छ। जुन गत वर्ष भन्दा ठिक विपरीत हो। तर गत वर्ष र अहिलेको बजारको ट्रेन्ड भने बिलकुल फरक छ। गत वर्ष बजार मौद्रिक नीति सार्वजनिक हुनु भन्दा एक महिना अघिसम्म घट्दो लयमा नै देखिएको थियो। मौद्रिक नीति पछि बजारले करिब दुई सय अंकको फड्को मारेको थियो। तर यसपटक भने बजार मौद्रिक नीति आउनु भन्दा दुई महिना अघि बाटै बढ्दो क्रममा रहेको थियो। मौद्रिक नीतिलाई नै लक्षित गरेर धेरै लगानीकर्ताले शेयर खरिद गरेका थिए। जुन शेयर मौद्रिक नीति सार्वजनिक भएकै दिन सल्टाउन सफल भए। जसले गर्दा मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्टै शेयर बजार घट्न पुगेको बजारका जानकार बताउँछन्।
शेयर बजारले जहिले पनि बढ्ने आधार खोज्ने गर्छ। गएको एक महिना अघि देखिनै बजारले मौद्रिक नीतिलाई बढ्ने आधारको रुपमा लिएको थियो। तर मौद्रिक नीति सार्वजनिक भएपछि बजारको बढ्ने आधार समाप्त भएकोले पनि बजार घट्न पुगेको अर्को विश्लेषण गरिएको छ। अब फेरि बजारले बढ्ने अर्को आधार पहिल्याउने छ। जसले पुन: बजार बढ्न टेवा दिने छ। जसमा लाभांश र चौथो त्रैमासको वासलातलाई लिनु पर्ने बताइएको छ। चौथो त्रैमास समाप्त हुँदै गर्दा सूचिकृत कम्पनीहरूले आफ्नो वर्ष दिनको वासलात सार्वजनिक गर्न सुरु गर्ने छन्। जसको आधारमा लगानीकर्ताले के कस्तो लाभांश दिन सक्ने अनुमान गर्न थाल्ने छन्। जसले बजारलाई बढ्न टेवा दिने छ। लाभांश कै लागि धेरै लगानीकर्ताले शेयर खरिद गर्न थाल्ने छन्। जसले माग पक्ष बलियो बनाउँदै लैजाने छ। त्यसैले शेयर बजार बढाउन टेवा मिल्ने बताइएको छ।