लगातार ५ दिन घटेपछि नेप्सेमा सामान्य वृद्धि कारोबार रकम निरन्तर ओरालो

 अर्थ बुलेटिन   १५ सावन, २०८०



 काठमाडौं । सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। गत पाँच कारोबार दिनमा १२६.८१ अंकले घटेकाे सेयर बजार यस दिन ५.८४ अंकले बढेको छ। गत सोमबारदेखि नेप्से लगातार घटिरहेकाे थियाे।

आज नेप्से परिसूचक ०.२७ प्रतिशतले बढेर २१०६.१८ बिन्दुमा बन्द भएको छ। सोमबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँमा सीमित भएको छ।

यस दिन २६२ वटा धितोपत्रको ५५ लाख ३१ हजार ७३७ कित्ता सेयर किनबेच भएको हो। सोमबार सनराइज ब्ल्यूचीप फण्डको इकाइमूल्य सर्वाधिक ७.१० प्रतिशतले बढेको छ।  उक्त योजनाको इकाइ मूल्य ८ रुपैयाँ पुगेको छ। यस्तै, बलेफी हाइड्रोपावरको सेयरमूल्य ५.७९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २६१ रुपैयाँ १० पैसा कायम भएको छ।

सेयर मूल्य सर्वाधिक घट्नेमा वीन नेपाल लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ४.३१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८०० रुपैयाँमा सीमित भएको छ। यस्तै, ग्लोबल आइएमई बैंक डिवेञ्चर २०८६/८७ को मूल्य ४.३१ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ८०० रुपैयाँमा झरेको छ।

सोमबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ६०४ रुपैयाँमा ८ करोड ८ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.३३ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोल्टी होटल रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४४७ रुपैयाँमा ५ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जलविद्युत, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ। यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक १.९७ प्रतिशतले बढेको छ। यस्तै वित्त समूहको परिसूचक १.२६ प्रतिशतले बढेको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation