२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । माण्डु हाइड्रोपावरको आइपीओ आज (आइतबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत् १ लाख २० हजार ५३२ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।
उक्त आइपिओमा कुल १० लाख १६ हजार ७१४ जनाले आवेदन दिएकोमा १ लाख ४३ हजार ८७७ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ। योग्य ८ लाख ७२ हजार ८३७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो।
कम्पनीले भदौ १० गतेदेखि १३ गतेसम्म प्रिमियम मूल्यमा आइपिओ बिक्री गरेको थियो। कम्पनीले जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता सेयर प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा बाँडफाँट नभएको ७९ लाख ३० कित्तासहित गरी कुल १३ लाख ६ हजार ३०६ कित्ता सेयर निष्कासन गरेको हो।
सोमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ। बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता सेयर कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको थियो। लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।
साथै, कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।