विश्वका सात अर्ब जनतासँग भन्दा दोब्बर सम्पत्ति एक प्रतिशत धनाढ्यसँग !

    ७ माघ, २०७६



काठमाडौं ।  विश्वमा धनी झन् धेरै धनी र गरिब झन् गरिब हुँदै गएको समचार छ । विश्वका सात अर्ब जनतासँग भन्दा दोब्बर सम्पत्ति जम्मा एक प्रतिशत धनाढ्यले बटुलेका छन् । त्यस्तै, विश्वका अगुवा २२ धनाढ्य पुरुषसँग अफ्रिकाका सम्पूर्ण ३२ करोड ६० लाख महिलाको भन्दा बढी सम्पत्ति छ । 

विश्वव्यापी गरिबी निवारणमा क्रियाशील संस्था अक्सफाम इन्टरनेसनलको प्रतिवेदनअनुसार विश्वका दुई हजार एक सय ५३ जना अर्बपतिसँग संसारभरिका चार अर्ब ६० करोड मानिससँग भएकोभन्दा बढी सम्पत्ति छ ।

स्विट्जरल्यान्डको डाभोसमा हुन लागेको विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनअघि अक्सफामले सार्वजनिक गरेको असमानतासम्बन्धी वार्षिक प्रतिवेदनले यस वर्ष आर्थिक असमानता अझ फराकिलो भएको देखाएको नयाँ पत्रिकामा समाचार छ  ।

अक्सफामको प्रतिवेदनमा विश्वका शीर्ष एक प्रतिशत धनाढ्यसँग अन्य ६ अर्ब ९० करोड मानिससँग भएकोभन्दा दोब्बर सम्पत्ति रहेको पनि उल्लेख छ । प्रतिवेदनले यस्तो विकराल आर्थिक असमानताका लागि लंगिक विभेद जिम्मेवार रहेको उल्लेख गरेको छ । प्रतिवेदनले भनेको छ, ‘आर्थिक असमानता लैंगिक विभेदको जगमा ठडिएको छ ।’

विश्वका १५ वर्ष र त्यसभन्दा माथिका महिलाले गर्ने बेतलबी हेरचाहको कामलाई मौद्रिक मूल्यमा रूपान्तरण गर्दा १०८ खर्ब अमेरिकी डलरभन्दा बढी हुने पनि प्रतिवेदनले उल्लेख गरेको छ ।

त्यसैगरी, गएको एक दशकमा अर्बपतिहरूको संख्या दोब्बर भएको प्रतिवेदनले जनाएको छ । धनी र गरिबबीचको असमानताको बढ्दो खाडल पुर्न विश्वका नेताहरूले पर्याप्त काम नगरेको जिकिर प्रतिवेदनमा छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation