लकडाउनमा विदेशी कूटनीतिज्ञको पनि साथ, सरकारले चालेको कदममा साथ दिन सुझाव

    १३ चैत, २०७६



काठमाडौं । नेपालस्थित कूटनीतिक समुदायले सरकारको लकडाउनलाई साथ दिँदै सतर्कताका लागि आवश्यक कदम भनेका छन् ।सरकारले चालेको कदममा सबैले साथ दिनुपर्ने उनीहरूको सुझाव छ । केही ठाउँमा लकडाउन उल्लंघन गरेको समाचार आएपछि उनीहरूले नेपालीलाई त्यस्तो सुझाव दिएका हुन् ।

कोरोना आक्रान्त मुलुकका राजदूतले सतर्कता अपनाउन ढिलाइ गर्न नहुने सुझाव दिएका छन् । उनीहरूले अघिल्लो सातादेखि नै घरबाटै आफ्नो काम गर्दै आएका थिए ।

केही राजदूतले दूतावासको सामाजिक सञ्जालमार्फत् सरकारको कदम राम्रो भन्दै जनताले धैर्यपूर्वक लकडाउनमा घरभित्र रहन सुझाव दिएका छन् । कतिपय दूतावासका अधिकारीले आफूहरू नेपालमा नै सुरक्षित भनिरहेका भए पनि यहाँ संक्रमण देखिन थालेपछि असहज अनुभूति भएको बताए ।

राजदूत र कूटनीतिक समुदायलाई सरकारले आउजाउमा रोक लगाएको छैन । तर, उनीहरू आफैं सचेत बनेका छन् । उनीहरूले यहींबाट आफ्नो मुलुकको भयावह अवस्थाको आकलन गरिरहेका छन् र यहाँ त्यस्तो स्थिति नआओस् भन्ने चाहना राखेका छन् ।

‘पत्रपत्रिका र पुस्तक मात्र होइन कुनै सामान ल्याएको छ भने त्यो तत्काल छुने चलाउने गरिएको छैन,’ एक पश्चिमा कूटनीतिज्ञले भने, ‘म बाहिर ननिस्केको एक साता भैसकेको छ । घरमा बस्ने कार्यालयको काम गर्ने, बिहान व्यायाम गर्ने, फोनमा गफ गर्ने, सामाजिक सञ्जाल हेर्ने, बच्चालाई समय दिएर व्यतित गरिरहेको छु । पुस्तक पढ्ने गरेको छु ।’

चिनियाँ राजदूत होऊ यान्छीले ट्विटरमा नेपालले लकडाउन घोषणा गरेलगत्तै चीन नेपालको साथमा रहेको बताएकी थिइन् । उनले पनि दूतावासका कर्मचारीलाई घरबाटै काम गर्न लगाएकी छन् । छिमेकी भारतले पनि सम्पर्कमा आउन नपर्ने कामका लागि दूतावासमा नआउन यसअघि नै भनिसकेको थियो । कतिपय काम इन्टरनेटबाटै गर्दै आएको थियो ।

अमेरिकाले पनि नेपालको साथमा रहेको भन्दै सघाउने बताएको छ । छिमेकी भारतले आवश्यक सामाग्री नेपाललाई उपलब्ध गराउने भन्दै साथ रहेको जनाएको छ । बेलायत, जापान, जर्मनी र युरोपेली महासंघ ९ईयू०का राजदूतले पनि सरकारलाई साथ र सहयोगको आड भरोसा दिएका छन् । अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation