लकडाउनमा संगठित अपराध घट्यो, आत्महत्या र बलात्कारका घटना घटेनन्

    १४ जेठ, २०७७



काठमाडौं । लकडाउनअघिसम्म काठमाडौंमा अपराधको घटनामा तीव्र वृद्धि भएको थियो । हत्या, अपहरण, बैंक ठगी, साइबर क्राइमलगायत घटना नभएको दिनै हुन्नथ्यो । त्यही भएर काठमाडौंलाई अपराधको समेत राजधानी भन्न थालिएको थियो । लकडाउनको दुई महिनामा भने अपराधको घटना करिब ७० प्रतिशतले घटेको प्रहरीको भनाइ छ । विगतमा काठमाडौं उपत्यकाका प्रहरीको हिरासत कक्ष भरिभराउ हुन्थे । तर, यतिवेला काठमाडौं प्रहरीको हिरासत कक्ष प्रायः सुनसान छन् ।

सामान्य दिन भए महानगरीय प्रहरी परिसर काठमाडौंमातहतका हिरासत कक्षमा प्रत्येक दिन कम्तीमा पाँच सयको संख्यामा थुनुवा रहन्थे । तर, अहिले सबै हिरासत कक्षमा ३३ थुनुवा राखिएका छन् । परिसरमातहत १४ वृत्त छन् । सबै वृत्तका आ–आफ्नै हिरासत कक्ष छन् । महानगरीय प्रहरी परिसर प्रमुख काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले काठमाडौंका प्रहरी हिरासत सुनसान भएको इतिहासकै पहिलो घटना भएको बताए । ‘सामान्य दिनमा परिसरमातहतका हिरासत कक्षमा प्रत्येक दिन पाँच सयदेखि सात सयको संख्यामा थुनुवा रहन्थे । तर, अहिले जम्मा ३३ थुनुवा हामीसँग छन् । सधैँ खचाखच हुने यहाँका हिरासत कक्ष सुनसान भएको सायद यो इतिहासकै पहिलोपटक हो,’ उनले भने ।

काठमाडौंपछि मोरङमा अपराधका घटना धेरै हुने गर्थे । तर, अहिले मोरङ प्रहरीका हिरासत कक्ष पनि सुनसानजस्तै छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीका अनुसार सधैँ एक सय ४० देखि एक सय ५० सम्म थुनुवा रहने मातहतका हिरासत कक्षमा अहिले ७४ मात्रै थुनुवा राखिएका छन् । ‘यहाँका हिरासत कक्षमा सामान्य दिनमा एक सय ४० देखि एक सय ५० सम्म थुनुवा रहन्थे । तर, अहिले ७४ मात्रै थुुनुवा रहेको तथ्यांक छ । यसअघि यसरी हिरासत कक्ष सुनसान भएको मेरो जानकारीमा छैन,’ उनले भने ।

गण्डकी प्रदेशको कास्की पनि अपराध धेरै हुने जिल्लामा पर्छ । जिल्ला प्रहरी कार्यालय कास्कीको तथ्यांकअनुसार विगतमा जिप्रकाको हिरासत कक्षमा मात्रै प्रत्येक दिन एक सय ५० देखि एक सय ६० सम्म थुनुवा रहन्थे । तर, अहिले ३० जना हिरासत कक्षमा छन् । ‘जिप्रकाबाट चलेका जम्मा २४ मात्रै मुद्दा छन् । सामान्य दिनमा यो संख्या निकै धेरै हुने गथ्र्यो । मुद्दा नै कम भएको हुँदा थुनुवा संख्या कम हुनु स्वाभाविक हो । त्यसैले हामीकहाँ अहिले ३९ थुनुवा छन्,’ जिप्रका प्रमुख एसपी दानबहादुर कार्कीले भने ।

अपराध कम भएकाले हिरासत कक्ष सुनसान

नेपाल प्रहरीका अनुसार अपराध नै कम भएकाले हिरासत कक्ष सुनसान हुन पुगेका हुन् । प्रहरीले उपलब्ध गराएको लकडाउनअघिको दुई महिना र पछिको दुई महिनाको तथ्यांकले पनि त्यही देखाउँछ । लकडाउनअघिको माघ र फागुनमा मुलुकुभर सात हजार आठ सय नौवटा मुद्दा प्रहरी कार्यालयमा दर्ता भएका थिए । तर, लकडाउनपछिको दुई महिनामा जम्मा दुई हजार चार सय १४ मात्रै मुद्दा दर्ता भएको देखिन्छ । यो संख्या अघिल्लो दुई महिनाको तुलनामा ६९।०९ प्रतिशतले कम हो । यसले पनि मुलुकभर लकडाउनयताको दुई महिनामा झन्डै ७० प्रतिशतले अपराध घटेको देखिन्छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी निरजबहादुर शाहीले अपराध नै घटेकाले प्रहरी हिरासत कक्ष सुनसान हुन पुगेको बताए । गम्भीर अपराधमा संलग्न भएकाबाहेकका अभियुक्तलाई तारेखमा छाडिदिने सरकारको नीतिले पनि हिरासत कक्षमा थुनुवा कम हुन पुगेको उनको भनाइ छ । ‘सामान्य दिन र लकडाउनपछिका दिनको तुलनामा अपराध घटेका छन् । विशेषगरी सामाजिक र संगठित प्रकृतिका अपराध घटेका छन् । त्यसो हुँदा मुद्दा कम दर्ता भएका छन्,’ उनले भने, ‘प्रहरीका हिरासत कक्ष भरिने यस्तै मुद्दाका अभियुक्तबाट हुन् । गम्भीर प्रकृतिका बाहेक अन्य मुद्दाका अभियुक्तलाई तारेखमा छाडेकाले हिरासत कक्ष सुनसान भए ।’

लकडाउनको दुई महिनामा बलात्कारका ३१ घटना
प्रहरीको तथ्यांकअनुसार अन्य अपराधको तुलनामा आत्महत्या र महिला बालबालिकासँग सम्बन्धित अपराध भने घटेका छैनन् । आवेगप्रेरित र एक व्यक्ति मात्रै संलग्न हुने भएकाले यस्ता प्रकृतिका अपराध नघटेको प्रहरीको भनाइ छ । तथ्यांकअनुसार लकडाउनयताको दुई महिनामा मुलुकभर सात सय १५ ले आत्महत्या गरेका छन्, जब कि अघिल्लो दुई महिना मुलुकभर आठ सय ३८ जनाले आत्महत्या गरेका थिए । तुलनात्मक रूपमा लकडाउन अवधिमा आत्महत्या गर्ने अघिल्लो महिनाको भन्दा १४।६७ प्रतिशतले मात्रै कम हो ।

त्यस्तै, महिला तथा बालबालिका अपराधअन्तर्गत बलात्कारसँग सम्बन्धित अपराध धेरै भएका छन् । जुन अघिल्लो दुई महिनाको तुलनामा एक सय ९५ ले मात्रै कम हो । अघिल्लो दुई महिनामा मुलुकभर बलात्कारका तीन सय ५० घटना भएका थिए । बलात्कार उद्योगका घटना पनि यस अवधिमा खासै घटेको तथ्यांकबाट देखिँदैन । अघिल्लो दुई महिनामा मुलुकभर बलात्कारका ९२ घटना भएका थिए । लकडाउनको दुई महिनामा भने मुलुकभर बलात्कारका ३१ घटना भएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरजबहादुर शाहीले संगठित र सामाजिक अपराध घटेको तुलनामा बलात्कार र आत्महत्याका घटना भने नघटेको बताए । ‘समूह मिलेर हुने अपराध घटेका छन् । तर, व्यक्ति मात्रै संलग्न भएर हुने अपराध खासै घटेका छैनन् । विशेषगरी आवेगप्रेरित अपराध नघटेको तथ्यांकबाट देखिन्छ,’ उनले भने । नयाँ पत्रिकामा खबर छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation