नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा झर्ने एडीबीको प्रक्षेपण

    ३१ भदौ, २०७७



काठमाडौं ।  एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा २.३ र २०२१ मा १.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। सरकारले यस वर्ष ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने अनुमान गरेको थियो। कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण आर्थिक गतिविधि खुम्चिँदा यस्तो प्रभाव परेको हो।

पछिल्ला दुई वर्ष २०१८ मा ६.७ र २०१९ मा ७ प्रतिशत वृद्धिदर थियो। एडीबीले मंगलबार सार्वजनिक गरेको ‘डेभलपिङ एसिया आउटलुक रिपोर्ट २०२०’ अनुसार यस वर्ष दक्षिण एसियाली मुलुकको औसत आर्थिक वृद्धिदर ६.८ प्रतिशतले ऋणात्मक रहनेछ।

‘कोरोना भाइरस संक्रमणको प्रभावस्वरूप निर्यात, रेमिट्यान्स तथा पर्यटन क्षेत्र प्रभावित भएकाले नेपालको आर्थिक वृद्धिदर घट्ने देखिन्छ। नेपालको प्रमुख व्यापारिक साझेदार रहेको छिमेकी मुलुक भारतको अर्थतन्त्र खस्किएको अवस्थामा स्वाभाविक रूपमा असर पर्नेछ’, नेपालका लागि एडीबीका कन्ट्री डाइरेक्टर मुख्तोर खामुदखानोबले भने, ‘यो आर्थिक वर्षमा आवधिक रूपमा जारी लकडाउनले आर्थिक क्रियाकलाप ठप्प हुँदै गएमा आर्थिक वृद्धिदर अझ खस्किन सक्छ।’

सरकारले असोजबाट सम्पूर्ण आर्थिक क्रियाकलाप खुकुलो पार्ने निर्णय गरिसकेको छ। तर कोरोना भाइरसको संक्रमण नियन्त्रण भई असोजपछि आर्थिक गतिविधि पूर्ववत् अवस्थामा फर्कनेमा अनिश्चितता भने कायमै छ।

विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने हालै आकलन गरेको थियो। दुई निकायले गरेका अनुमान सरकारको लक्ष्यभन्दा निकै कम हो।

नेपाल म्याक्रो इकोनोमिक अपडेटका अनुसार यसै वर्ष मनसुनका कारण धान उत्पादनमा वृद्धि हुने अनुमान छ। तर, समयमा मल आपूर्ति नहुँदा यसले कृषि क्षमतामा केही ह्रास उत्पन्न भएको छ। लामो समयसम्म आन्तरिक तथा बाह्य उडान ठप्प रहँदा पर्यटन क्षेत्र प्रभावित छ। चालू आर्थिक वर्षको तुलनामा मुद्रास्फीति घट्ने अनुमान एडीबीको छ। चालू आवमा ६।२ प्रतिशतको मुद्रास्फीतिको अनुमान गरेकामा आगामी आवमा ५.५ प्रतिशत पुग्ने प्रक्षेपण छ। कृषि उत्पादनमा सुधार, पेट्रोलियम पदार्थको मूल्य सस्तिनु, कमजोर मागका कारण मूद्रास्फीति घट्ने प्रक्षेपण गरिएको हो।

एडीबीको प्रक्षेपणअनुसार सन् २०२० मा माल्दिभ्सको अर्थतन्त्र सबैभन्दा खस्किने छ। यस वर्ष माल्दिभ्सको जीडीपी २०.५ प्रतिशत ऋणात्मक रहने देखिएको छ। त्यस्तै, भारतको ९, श्रीलंकाको ५.५, अफगानिस्तानको ५ र पाकिस्तानको ०।४ प्रतिशतले ऋणात्मक रहने प्रक्षेपण गरिएको छ। दक्षिण एसियाका तीन मुलुक बंगलादेश, भुटान र नेपालको आर्थिक वृद्धिदर गत वर्षको तुलनामा घटे पनि ऋणात्मक भने हुने छैनन्। यी मुलुकको वृद्धिदर क्रमशः ५.२, २.४ र २.३ प्रतिशत रहनेछन्।

सन् १९६० पछि पहिलोपटक एसियाको आर्थिक वृद्धिदर ऋणात्मक देखिएको एडीबीको रिपोर्टमा उल्लेख छ। कच्चा पेट्रोलियम पदार्थको मूल्य घट्दोक्रम र अरू वस्तुको पनि उपभोगमा कमि आएपछि घट्ने बजार मागका कारण २०२० मा एसियामा २।९ प्रतिशत र २०२१ मा २.३ प्रतिशतको मुद्रास्फीति रहने आंकलन पनि एडीबीले गरेको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation