गैरकानूनी रुपमा यात्रु बोक्ने चौध निजी सवारी साधन कारवाहीमाप्रयोजन विपरीत सवारी साधन चलाए रु दुई सयदेखि एक हजार जरिवाना हुने

 अर्थ बुलेटिन संवाददाता   ८ पौष, २०७६



काठमाडौँ । निजी नम्वर प्लेट (रातो) भएका सवारी साधनले भाडा लिएर यात्रु ओसार पोसार गरेको भन्दै कोठमाडौंको नयाँ बसर्पावाट १४ वटा निजी कारवाहीमा परेका छन् ।

महानगरीय प्रहरी वृत्त नयाँ बसपार्कले आज चलाएको विशेष अप्रेशनमा गैरकानूनी रुपमा यात्रु बोक्ने सो संख्यामा  निजी सवारी साधनलाई कारवाही गरेको जनाएको छ ।

निजी नम्बर प्लेटका सवारी साधनले नयाँ बसपार्कबाट यात्रुलाई उपत्यकाका विभिन्न ठाउँमा पुरयाएर भाडा लिँदै आएका छन् ।    

काठमाडौँको नयाँ बसपार्कमा निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर धमाधम मान्छे ओसारपसार गर्ने गरेको पाइएको छ ।

सार्वजनिक सवारी साधनले मात्र यात्रु बोक्न पाउने कानूनी व्यवस्था भए पनि पछिल्लो समय निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर धमाधम मान्छे बोक्ने गरेको पाइएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर यात्रु ओसारपसार गर्ने गरेको सूचनाका आधारमा १४ सवारी साधनलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

“अहिले सम्झाई बुझाई गरेर छाडेका छौँ, आगामी दिनमा पनि निजी नम्बर प्लेटका सवारी साधनले यात्रुसँग भाडा लिएको थाहा पाएमा कानूनबमोजिम कारवाही गर्नेछौँ”, उहाँले भन्नुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले गैरकानूनी रुपमा निजी सवारी साधनले यात्रु बोक्न नपाइने बताउनुभयो । “अवैधानिक, गैरकानूनी रुपमा चलेका यस्ता सवारी साधनलाई तत्काल रोक्न हामी सरकारलाई माग गर्दछौँ”, उहाँले भन्नुभयो ।

निजी सवारी साधनले यात्रु बोके यात्रु बोक्नका लागि दर्ता भएका सार्वजनिक सवारी साधनले के गर्ने ? उहाँले प्रश्न गर्नुभयो ।यसअघि पनि गैरकानूनी रुपमा टुटल तथा पठाओले यात्रु बोक्दै आएका थिए ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार प्रयोजन विपरीत सवारी साधन चलाए रु दुई सयदेखि एक हजार जरिवाना हुने व्यवस्था छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation