नेपाल भ्रमण वर्ष २०२० शुरु हुन २ दिन वाँकी, चिनियाँ पर्यटकको घुइचोमहानगर जुर्मुरायो, देशैभर चहलपहल, विशेष समारोह सहित भ्रमण वर्षको शुभारम्भ गर्ने तयारी

 अर्थ बुलेटिन   १४ पौष, २०७६



काठमाडौं । आज सन् २०१९ डिसेम्वर ३० अब जनवरी १, २०२० आउन आज र भोलि गरेर २ दिन मात्रै वाँकी छ । आगामी बुधवार पौष १६ गते अर्थात जनवरी १, २०२० का दिन काठमाडौंको दशरथ रंगशालामा विशेष समारोह सहित भ्रमण वर्षको शुभारम्भ गर्ने तयारीमा सरकार लागेको  ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नुहुनेछ भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक शुरुआत आगामी बुधबारदेखि गर्ने तयारी गरेको छ ।

रङ्गशालासँगै सातै प्रदेशका मुख्यमन्त्रीले आआफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नुहुनेछ । त्यस्तै जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने कार्यक्रम तय भएको छ ।

भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सरकारले ३१ मुलुकका पर्यटनमन्त्री एवं विशिष्ट व्यक्तिलाई आमन्त्रण गरेको छ । तीमध्ये १० मुलुकका पर्यटनमन्त्री तथा अन्य केही मुलुकका विशिष्ट पाहुनाको सहभागिता निश्चित भइसकेको पर्यटन मन्त्रालयले जनाएको छ ।

उद्घाटन कार्यक्रममा मार्चपास तथा विविध सांस्कृतिक प्रस्तुति हुनेछन् । कार्यक्रममा सम्भव भएसम्म औपचारिक पोशाकमा सहभागी हुन आग्रह गरिएको छ । मार्चपास तथा रयालीमा राष्ट्रिय झण्डाका साथ सम्बन्धित संस्थाको झण्डा प्रयोग गर्न सकिनेछ । तीन घण्टा सञ्चालन हुने उद्घाटन समारोह दिउँसो तीन बजे शुरु हुनेछ ।

भारत, चीन, बङ्गलादेश, युरोपलगायत मुलुकका गरी ४० भन्दा बढी विदेशी सञ्चारमाध्यमका सञ्चारकर्मीको सहभागिता उद्घाटनको दिन रहने छ ।

सरकारले भ्रमण वर्षको अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को १० महिनामा १० लाख विदेशी पर्यटक नेपाल घुम्न आएका छन् ।

काठमाडौँ महानगरपालिका जुर्मुरायो

काठमाडौँ महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा नै रहेको अर्थात पहिलोपटक विदेशी पर्यटक आएर काठमाडौँलाई नै अवलोकन गर्ने भएकाले पनि यहाँको सौन्दर्यलाई विशेषरूपमा लिएको कामपाले जनाएको छ । नेपाल आउने पर्यटकमध्ये ९० प्रतिशत हवाईमार्ग भएर आउने गर्दछन् ।

हाल कामपाले तार व्यवस्थापन, सम्पदामा रङरोगन गर्ने र अन्य सरसफाइको काम तीव्ररूपमा गरिरहेको छ । त्यस्तै शहरलाई कुरूप बनाई राखिएको विभिन्न किसिमका विज्ञापन हटाउनका लागि पनि कामपाबाट दैनिक चार टोली खटिएको छ । शहरको मुख्य स्थानमा विज्ञापन हटाउने कार्य सकिसकेको छ ।

काठमाठौँको मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेको ठमेलमा यतिबेला तार व्यवस्थापनको कार्य सकिइसकेको छ भने अन्य स्थानमा पनि यस किसिमको काम भइरहेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । ठमेलबाट मात्रै अव्यवस्थित रूपमा रहेको १६ गाडी तार व्यवस्थापनको कार्य सकिएको छ ।

प्रमुख शाक्यले रासससँग कुरा गर्दै भन्नुभयो, “काठमाडौँलाई सुन्दर बनाउने प्रमुख दायित्व कामपाको नै हो त्यसैले सोहीअनुरूप काम भइरहेको छ, । प्रमुख शाक्यले सम्बन्धित सबै वडाका वडाध्यक्षलाई सरसफाइ गरी पाहुनालाई स्वागत गर्न तयार रहन निर्देशन दिइसक्नुभएको छ ।    
    
चार सम्पदाको स्वरूप फेरिँदै

काठमाडौँको मुख्य आकर्षणका रूपमा रहेका चार सम्पदा हनुमानढोका, स्वयम्भूनाथ, बौद्ध र पशुपतिनाथ मन्दिरलाई सुन्दर र आकर्षक बनाउन रङ लगाउने र सरसफाइको काम भइरहेको छ । प्रमुख शाक्यले कुराकानीकै क्रममा भन्नुभयो, “काठमाडौँ आउने पर्यटकमध्ये ९० प्रतिशतले यी चार सांस्कृतिक सम्पदाको अवलोकन गर्ने पाइएकाले सोहीअनुरूप सौन्दर्य अभिवृद्धिमा खटिएको हो ।” सहकार्य गरेर मात्रै भ्रमण वर्ष सफल बनाउन सकिने भन्दै प्रमुख शाक्यले कामपासँग भगिनी सम्बन्ध भएका विभिन्न मुलुकका नगरलाई नेपाल भ्रमण गर्नका लागि निम्तो दिएको पनि जानकारी गराउनुभयो ।

केन्द्र सरकारको भन्दा पनि भ्रमण वर्षलाई सफल बनाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले यसका लागि सबै स्थानीय तहनै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । सौन्दर्य अभिवृद्धिका लागि चालू आर्थिक वर्षमा कामपाले रु १० करोड विनियोजन गरेको छ ।    
    
इन्द्रजात्रा अवलोकनले भ्रमण वर्षलाई सहयोग

पहिलो पटक कामपाले गत भदौ अन्तिम साता भएको इन्द्रजात्राको अवलोकन गर्न विदेशी पाहुनालाई आमन्त्रण गरेको थियो । एघार देशका ४१ पहुनाले इन्द्रजात्राको मात्रै अवलोकन नगरी काठमाडौँ उपत्यकाको विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन गरेकाले भ्रमण वर्षलाई थप सहयोग पुग्ने कामपाले विश्वास लिएको छ ।

उक्त समयमा पाहुनाले हनुमानढोका क्षेत्रमा रहेका सम्पदा, पशुपति मन्दिर, चन्द्रागिरि, पाटनको सङ्ग्रहालय, कृष्ण मन्दिर र भक्तपुरको पचपन्न झ्याले दरबारको अवलोकन गरेका थिए । जात्रा अवलोकन गर्न चीन, भारत, अमेरिका, भूटान र जापानका ११ शहरबाट ४१ पहुना आएका थिए । उक्त समयमा अवलोकन गरेका पाहुनाले पुनः नेपाल भ्रमणको लागि आउने बताएका थिए ।

चिनियाँ पर्यटकको घुइचो

यसैविच पछिल्लो समय देशमा तेश्रो मुलमकको भन्दा पनि भारतिय र चिनियाँ नागरिक धेरै आउने गरेको एक तथ्याङकले देखाएको छ । तुलनात्मक रुपमा भारतिया भन्दा पनि चिनियाँ पर्यटकको संख्या ह्वात्तै बढेको काठमाडौं ठमेलमा होटल व्यवसाय संचालन गरिरहेका विशेष गुरुङले बताए । काठमाडौंसंगै देशका प्रमुख पर्यटकिय क्षेत्रहरु पोखरा, चितवनमा पनि चिनियाँ पर्यटकको वाक्लो घुइचो देखिएको बताइएको छ ।

बन्दीपुरमा सत्तरी प्रतिशत चिनियाँ पर्यटक   

कृष्ण न्यौपाने दमौली
पहाडकी रानी नामले परिचित तनहुँको बन्दीपुरमा यतिबेला चिनियाँ पर्यटकको आगमन बाक्लिएको छ । चिसो मौसम शुरु भएसँगै बन्दीपुरमा चिनियाँ पर्यटकको आगमन वृद्धि भएको हो ।

बन्दीपुर घुम्न आउने पर्यटकमध्ये अहिले ७० प्रतिशत पर्यटक चिनियाँ रहेको बन्दीपुर पर्यटन विकास समितिले जनाएको छ । बन्दीपुर भ्रमणका लागि आउने करिब ५०० पर्यटकमध्ये ३५० भन्दा बढी पर्यटक चिनियाँ रहेको समितिका अध्यक्ष वैश गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार चिनियाँका अतिरिक्त भारतीय र युरोपेली मुलुकका पर्यटक पनि बन्दीपुरमा आएका छन् ।

अङ्ग्रेजी नयाँ वर्ष नजिकिएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल बढेको गुरुङले बताउनुभयो । आन्तरिक तथा बाह्य पर्यटकको चापका कारण अङ्ग्रेजी नयाँ वर्षको अवसरमा बन्दीपुरमा कोठा पाउन मुस्किल हुने गरेको छ । “बन्दीपुरमा अहिले स्वदेशीभन्दा विदेशी पर्यटकको चाप बढी छ”, गुरुङले भन्नुभयो ।

बन्दीपुर घुम्न आएकामध्ये अधिकांश पर्यटकले बन्दीपुरमा बास बस्ने गरेका छन् । बन्दीपुरमा वनभोजका लागिसमेत विभिन्न जिल्लाबाट विद्यार्थी आउने गरेका छन् । बन्दीपुरमा ग्रिनपार्क, फेवा, गामघर, वोल्डईन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत साना ठूला गरी ५७ वटा होटल तथा २२ वटा घरवास सञ्चालनमा छन् । ती सबै होटलमा एकै पटक एक हजार ३०० देखि एक हजार ४०० पर्यटकले रात बिताउन सक्नेछन् । बन्दीपुरमा होटलमा करिब १५० भन्दा बढीले रोजगारी पाएका छन् ।

बन्दीपुर घुम्न आउने पर्यटकलाई यहाँका पर्यटकीय एवं ऐतिहासिकस्थलको बारेमा जानकारी दिने गरिएको छ । यहाँ ढुङ्गाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको र पुराना घर भएकाले पनि विदेशी आकर्षित हुने गरेका छन् ।

बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरिलगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ । कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई बन्दीपुर उत्कृष्ट गन्तव्यको रूपमा विकास भइरहेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दिपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरिलगायत हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।

सुन्दर हिमशृङ्खलाको अवलोकनका साथै सूर्यास्तको दृश्य हेर्न र स्थानीय नेवारी कला संस्कृतिसँग रम्न पाइने भएका कारण पर्यटकको पहिलो रोजाइमा बन्दीपुर पर्ने गरेको व्यवसायी राजु बानियाँले जानकारी दिनुभयो । बानियाँका अनुसार यहाँ आउने पर्यटक यहाँको हावापानी, संस्कृति, रीतिरिवाज देखेर एकदमै आकर्षित हुने गरेका छन् । “दुई÷तीन दिन मात्रै बस्ने गरेर आएका पर्यटक पनि यहाँ आइसकेपछि थप केही दिन नबसी फर्किँदैनन्”, उहाँले भन्नुभयो ।

यहाँ रहेका परम्परागत घरका कारण यहाँको पर्यटनमा टेवा मिलेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । काठका बुट्टा कँुदिएका झ्याल तथा ढोका, इँटा बाहिर देखिने प्यागोडाशैलीका घर यहाँको मुख्य आकर्षणका रूपमा रहेको थापाको भनाइ छ ।

अठारौँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याइएको बाटो निर्माण गरेका थिए । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ । बन्दीपुर बजारमा भएका पुरानो घरको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेली शैली झल्किने गरी घर बनाउन निषेध गरेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation