तामझामका साथ भ्रमण वर्ष २०२० शुरु हुदै, दशरथ रङ्गशाला चिटिक्कउद्घाटन सत्रमा सातै प्रदेशको संस्कृति झल्कने प्रस्तुति तथा ख्यातिप्राप्त कलाकारको सहभागिता

 अर्थ बुलेटिन   १५ पौष, २०७६



काठमाडौँ । प्यारापिटमा पानी हालेर सरसफाइ भइरहेको छ । मञ्चको सजावट र अत्याधुनिक साउन्ड सिस्टम जडान धमाधम चलिरहेको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ सचिवालयका संयोजक सुरज वैद्य र कर्मचारी आज बिहानदेखि थलामै खटिएर अनुगमन र तयारीका काममा जुटेको देखिन्छ ।

राष्ट्रियस्तरका टेलिभिजन र सञ्चारकर्मी भ्रमण वर्ष उद्घाटनको समाचार सङ्कलन र उद्घाटनको प्रत्यक्ष प्रसारणको तारतम्य मिलाँदैछन् । नेपालको राष्ट्रिय झण्डा र भ्रमण वर्षको प्रतीक चिह्न अङ्कित ब्यानर र ध्वजा फहराउन थालेका छन् । ठूल्ठूला बेलुनमा हावा भरिएको छ । राष्ट्रिय चिह्न र पर्यटकलाई आकर्षण तुल्याउने चित्र र मूर्ति कक्षमा राख्न थालिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पनि रङ्गशाला हुने उद्घाटन समारोह प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ ।

काठमाडौँको दशरथ रङ्गशालासहित मुलुकका सातै प्रदेशमा एकैसाथ उद्घाटन हुने भ्रमण वर्षको पहिलो दिन (जनवर १ तारिख) का लागि विदेशी विशिष्ट पाहुना आउने क्रम शुरु भइसकेको छ । भ्रमण वर्षले झपक्कै छोपेपछि शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत चौथो चरणको खेल रङ्शालाबाट स्थान सारेर सतदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा लगिएको छ ।

सङ्घीय सरकारले २० लाख पर्यटक भित्र्याउले लक्ष्यसहित नेपाल भ्रमण वर्ष–२०२० को बुधबार औपचारिक उद्घाटनको तयारी गरेको हो । यो यही रङ्गशाला हो, जुन मङ्सिर १५ देखि २४ गतेसम्म दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा पनि सिँगारिएको थियो । एक महिना नपुग्दै अर्का ठूलो कार्यक्रम हुने भएपछि भूकम्पपछि पुनःनिर्मित रङ्गशालाको रौनक बढेको छ ।

सो स्थलमा आज दिउँसो आतसबाजी र कलाकार टोलीसहित पूर्वाभ्यास गरिएको छ । उद्घाटन सत्रमा कुटुम्ब ब्यान्डको विशेष प्रस्तुति रहनेछ । मुलुकका सातै प्रदेशको संस्कृति झल्कने प्रस्तुति तथा ख्यातिप्राप्त कलाकारको सहभागिता रहनेछ ।

तयारीको अनुगमनका लागि आज साँझ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र उच्चपदस्थ अधिकारी स्थलमा पुग्नुहुनेछ । सचिवालयका संयोजक वैद्यले रासससँग कुरा गर्दै भन्नुभयो, ‘‘उद्घाटन समारोहलाई भव्य बनाउन सम्पूर्ण तयारी आज साँझसम्म सकाइने छ । उद्घाटन कार्यक्रम ऐतिहासिक हुने छ ।’’

रङ्गशालाका चारै किनारामा ऋषिमुनिका मूर्ति राखिएका छन् । उद्घाटन सत्रमा भ्रमण वर्षाङ्कित ठूलाठूला सेतो बेलुन उडाइनेछन् । उद्घाटनका दिनमा आतसजबाजीसमेत गरिने कार्यक्रम छ ।

उद्घाटन समारोहमा नै विभिन्न सङ्गीत ब्यान्ड तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको विशेष प्रस्तुति रहनेछ । नेपालको संस्कृति, सम्पदा, वेशभूषा र रहनसहनलाई प्राथमिकता राखेर उद्घाटन समारोहलाई भव्य बनाउने तयारी गरिएको संयोजक वैद्यले बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे भ्रमण वर्ष उद्घाटन गर्नुहुनेछ । समारोहमा छिमेकी भारत र चीनका पर्यटनमन्त्रीसहित विशिष्ट पाहुनाबाट समेत सम्बोधन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा करीब १२ हजारलाई निमन्त्रणापत्र पठाइसकेको संयोजक वैद्यले जानकारी दिनुभयो ।

समारोहमा म्यान्माका पर्यटनमन्त्री पनि आउने कार्यक्रम छ । केही समय पहिले चीनका राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमणपछि नेपालमा चिनियाँ पर्यटक बढ्न थालेका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासहित सरकारले आर्थिक समृद्धिको जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्न अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनदेखि भ्रमण वर्षको थालनी गर्न लागेको हो ।

उद्घाटन समारोहमा १९ देशका उच्च अधिकारी आउनेछन् । उहाँले नेपाललाई अन्तरराष्ट्रिय रुपमा परिचित गराउनका लागि ५० जना विदेशी मिडियाका सञ्चारकर्मी आउने भएका छन् । भ्रमण वर्षको उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण सातै प्रदेशमा फ्लेक्समार्फत पनि सर्वसाधारणले हेर्न सक्ने व्यवस्था गरिएको छ । सातै प्रदेशमा मुख्यमन्त्रीको समन्वयमा स्क्रिन हालेर काठमाडाँमा भएको उद्घाटन कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । उद्घाटनका लागि सचिवालयले करीब रु चार करोड खर्च गर्ने अनुमान गरिएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार भ्रमण वर्षको पूर्वसन्ध्यामा डिसेम्बर २५ देखि नै विभिन्न कार्यक्रम गरिएको छ । आज साँझ ठमेललगायत स्थानबाट दीपावली गरी भ्रमण वर्षको पूर्वशुरुआत गरिएको छ । भ्रमण वर्षको उद्घाटन समारोहमा सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । प्रवेश–पासको व्यवस्था गरी सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । अपराह्न ४ बजे उद्घाटन हुने कार्यक्रममा सर्वसाधारणलाई ३ बजे नै रङ्गाशाला पुग्न भनिएको छ ।

उद्घाटन समारोहका दिन दशरथ रङ्गशालामा सेतो, पहँेलो र नीलो रङका पास वितरण गरिएको छ । सर्वसाधारणका लागि, पहेँलो विशिष्ट पाहुनाका लागि र नीलो अति विशिष्ट पाहुनाका लागि विशेष कार्ड बनाइएको छ । सञ्चारकर्मीका लागि विशेष पास तथा स्थान छुट्याइएको छ । उद्घाटन समारोह हुनुभन्दा अगाडि ३:४५ बजे रङ्गशालाको मूलढोका बन्द गरिनेछ । सो स्थलमा सबै ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ ।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र मन्त्रिगणको उपस्थिति हुनेछ । समारोहमा मुख्य राजनीतिक दलका शीर्षस्थ नेता, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेता सहभागी हुनुहुनेछ ।    
प्रकाश सिलवाल र शरद शर्मा, रासस

 

भ्रमण वर्षः सिन्धुलीमा बुद्ध मूर्ति, घरबास र जलयात्रा   
सिन्धुली । सिन्धुली जिल्लामा नेपाल भ्रमण वर्ष २०२० मनाउन स्थानीय तहहरुले कार्यक्रम गर्ने तयारी गरेका छन् । नौ स्थानीय तहमध्ये हालसम्म आठ स्थानीय तहले कार्यक्रम तय गरिसकेका छन् ।

भ्रमण वर्षको शुरुवाती दिनमै कमलामाई नगरपालिकाले यही पुस १६ गते सिन्धुलीगढीबाट कार्यक्रम शुरु गर्ने भएको छ । जिल्लाको ऐतिहासिकस्थल गढीको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले त्यहीँबाट भ्रमण वर्ष शुरु गरिने नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कमलामाई नगरपालिकाले यही पुस २७ गते सिन्धुलीगढीमा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने तयारी भएको छ । केही दिनपछि नगरकार्यपालिकाको बैठक बसेर पर्यटन वर्षभरि गरिने कार्यक्रमको तय हुने उहाँले जानकारी दिनुभयो । हालसम्म दुई कार्यक्रम तय भएको र पछि थप कार्यक्रम गरिने उहाँले बताउनुभयो ।

मरिण गाउँपालिकाले प्रसिद्धस्थल पञ्चकन्या मन्दिरमा विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । अन्य पर्यटकीस्थलमा कार्यक्रम गर्न गाउँकार्यपालिकाको बैठकले थप निर्णय गर्ने छ । हरिहरपुरगढी गाउँपालिकाले महोत्सव सञ्चालन गर्ने तथा कुण्ड पोखरीमा कार्यक्रम सञ्चालन गर्ने विशेष तयारी गरेको गाउँपालिका अध्यक्ष कारसाङ लामाले जानकारी दिनुभयो ।

फागुन पहिलो हप्ता हरिहरपुरगढीमा महोत्सव सञ्चालन गरिने छ । तिमिलडाँडाबाट भारतको सीतामाडीलगायत शहर तथा जनकपुर, वीरगञ्ज, गौरलगायत देख्न सकिने भएकाले उक्त स्थललाई व्यवस्थित गर्दै पर्यटकलाई भित्र्याउने योजना रहेको उहाँले बताउनुभयो ।

घ्याङ्लेख गाउँपालिकाले पालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन दृश्यावलोकनस्तम्भ निर्माण गर्ने जनाएको छ । गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनले फाफरचुरीमा भ्युटावर निर्माण गर्ने तयारी भएको र पालिकामा आउने पर्यटकलाई बासका लागि पाहुनाघर निर्माण भइरहेको जानकारी दिनुभयो । गुम्बा र मन्दिरको संरक्षण गर्दै विभिन्न स्थानमा बुद्धको मूर्ति निर्माण गर्ने तयारी भएको जानकारी पनि उहाँले दिनुभयो ।

त्यसैगरी सुनकोशी गाउँपालिकाले पर्यटक भित्र्याउन र प्रचारप्रसार गर्न विभिन्न कार्यक्रम गर्ने भएको छ । अहिले सुनकोशीमा जलयात्रा शुरु गरिएको गाउँपालिका अध्यक्ष दीपा बोहोराले जानकारी दिनुभयो ।

सुनकोशीको महाभारत क्षेत्रमा रहेका नागी, बन्दीपुर र चालिसेमा घरबास सञ्चालन गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । कुशेश्वर महादेव मन्दिरमा मेला लगाउने र विभिन्न मन्दिरको संरक्षण गर्ने तयारी गरिएको समेत उहाँको भनाइ छ । सुनकोशीले धार्मिकस्थलमा स्तूपसमेत बनाउने भएको छ । गाउँपालिका अध्यक्ष बोहोराले भन्नुभयो, “यहाँका तामाङ बस्ती, मगर बस्तीलगायत जनजातिका बसोबास भएका स्थानहरुमा स्तूप बनाउने र धार्मिक सम्पदाको संरक्षण र प्रचारप्रसार गर्ने योजनासमेत बनाउँदै छौ ।”

यस्तै गोलन्जोर पर्यटकीयस्थलको संरक्षण गर्ने अभियान चलाइएको प्रवक्ता दौलत कार्कीले जानकारी दिनुभयो । गाउँपालिकाले वडा नं ४, ५ र ६ को सङ्गमस्थल तथा पर्यटकीस्थल गोलन्जोरडाँडामा भ्युटावर निर्माण गरेको जानकारी उहाँले दिनुभयो । सुनकोशीमा जलयात्रा, जुनार क्षेत्रको अवलोकन, मन्दिरको संरक्षणलगायत कार्यक्रम पनि गरिने उहाँको भनाइ छ ।    
फिक्कल गाउँपालिकाले जलयात्रा महोत्सव तथा खाना– खाजा महोत्सव गर्ने गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो । उहाँले गाउँ कार्यपालिकाको बैठकले कृषि तथा जडीबुटीको प्रशोधन, प्रदर्शनी तथा अध्ययनअवलोकन, किबीको प्रचारप्रसार तथा अध्ययन अवलोकन गर्न सकिने गरी कार्यक्रम गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

जिल्लाकै अग्लो स्थान फिक्कलबाट सगरमाथा तथा अन्य हिमालको नजीकबाट अवलोकन गर्न सकिन्छ । जिल्लाको अग्लो स्थानमा रहेको नगदह, तीनचम्के पोखरीको समेत अवलोकन गर्न सकिने र त्यसको प्रचारप्रसार गरिने समेत उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाले स्थानीय भाषा, संस्कृति र कलाको संरक्षण गर्दै पालिकामा घुम्न आउने पर्यटकलाई घरबास सञ्चालन गरेको छ । फिक्कलका घरबासमा आउने पर्यटकले स्थानीय कलासंस्कृतिका साथैै स्थानीय उत्पादन र अल्लोबाट उत्पादित कपडासमेत खरीद गर्न सक्ने बताइएको छ ।

पालिकाले गुराँस फुल्ने समयमा जिल्लाको अग्लो स्थानमा रहेको रतनेथाम खेल मैदानमा अध्यक्ष कप फुटबल प्रतियोगितासमेत सञ्चालन गर्ने भएको छ ।

दूधौली नगरपालिकाले महुगङ्गा महादेव मन्दिरमा विशेष कार्यक्रम गर्ने भएको छ । नगरपालिकामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई बस्नका लागि दनुवार समुदायमा रु तीन करोडको लागतमा घरबास सञ्चालन गर्ने तयारी भइरहेको नगर प्रमुख घनश्याम राउतले जानकारी दिनुभयो ।

यसैबीच जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शङ्करराज बर्मा तिवारीले जिल्लाका स्थानीय तहसँग भ्रमण वर्ष मनाउने सन्दर्भमा छलफल गरिएको बताउनुभयो । स्थानीय पालिकाका प्रमुखहरुलाई भ्रमण वर्षमा स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । सिन्धुली जिल्ला ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रुपमा धनी भएकाले यसको प्रचारप्रसार गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

नबीनबाबु अधिकारी, रासस
 

भ्रमण वर्ष: मगरी खाना महोत्सव पुस २५ मा   
पाल्पा । भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी पाल्पामा मगरी खाना महोत्सव हुने भएको छ । नेपाल मगर सङ्घ पाल्पाको आयोजनामा यही पुस २५ गते तानसेनमा मगरी खाना तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

आन्तरिक पर्यटक आगमन बढाउन र मगरी कलासंस्कृतिको संरक्षण गर्न महोत्सव सफलदायी हुने सङ्घका अध्यक्ष तेजबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

महोत्सवमा मगरी खानाका परिकार बारा, अचार, तरुल, सखरखण्ड, सुँगुरको मासुलगायत स्वाद पाइने छ । यसैबीच मगर समुदायका अगुवाले पहिचानका आधारका रुपमा प्रदेश नं ५ को नामकरण मगरात थरुहट हुनुपर्नेमा जोड दिएका छन् ।

मगर सङ्घ पाल्पाले माघे सङ्क्रान्तिका अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका केन्द्रीय सल्लाहकार केहरसिंह रानाले प्रदेशको नाम मगरात रहनुपर्ने सङ्घको माग यथावत् रहेको दोहोरयाउनुभयो ।

मगर सङ्घ पाल्पाका अध्यक्ष तेजबहादुरले लखन थापालाई सरकारले शहीद घोषणा गरे पनि सरकारी कार्यालयहरुले त्यसको बेवास्ता गरेको भनी चिन्ता व्यक्त गर्नुभयो । मगर सङ्घका उपाध्यक्ष शान्ति झेडीले जिल्लाका सरकारी कार्यालयमा लखन थापाको तस्वीर राख्नुपर्ने माग गर्नुभयो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation