अब केहि घण्टामा नेपाल भ्रमण वर्ष २०२० को औपचारीक उद्घाटन हुदैनेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई ढाकाटोपीले सम्मान , भक्तपुरमा एका विहानै मेयर दरवार स्क्वायरमा

 अर्थ बुलेटिन संवाददाता   १६ पौष, २०७६



काठमाडौं । आज अपरान्ह औपचारिक कार्यक्रमको आयोजना गरि भव्यताका साथ सुरु हुन लागेको नेपाल भ्रमण वर्ष २०२० को तयारी पुरा भएको सचिवालयले जनाएको छ । सङ्घीय सरकारले २० लाख पर्यटक भित्र्याउले लक्ष्यसहित नेपाल भ्रमण वर्ष–२०२० को आज औपचारिक उद्घाटनको तयारी गरेको हो ।

अहिले रंगशालामा नेपालको राष्ट्रिय झण्डा र भ्रमण वर्षको प्रतीक चिह्न अङ्कित ब्यानर र ध्वजा फहराउन थालेका छन् । ठूल्ठूला बेलुनमा हावा भरिएको छ । राष्ट्रिय चिह्न र पर्यटकलाई आकर्षण तुल्याउने चित्र र मूर्ति कक्षमा राखिएको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासहित सरकारले आर्थिक समृद्धिको जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्न अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनदेखि भ्रमण वर्षको थालनी गर्न लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे भ्रमण वर्ष उद्घाटन गर्नुहुनेछ । समारोहमा छिमेकी भारत र चीनका पर्यटनमन्त्रीसहित विशिष्ट पाहुनाबाट समेत सम्बोधन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा करीब १२ हजारलाई निमन्त्रणापत्र पठाइसकेको संयोजक वैद्यले जानकारी दिनुभयो ।

काठमाडौँको दशरथ रङ्गशालासहित मुलुकका सातै प्रदेशमा एकैसाथ उद्घाटन हुने भ्रमण वर्षको पहिलो दिन (जनवरी १ तारिख) का लागि विदेशी विशिष्ट पाहुना आउने क्रम शुरु भइसकेको छ ।

उद्घाटन सत्रमा आतसबाजी, कुटुम्ब ब्यान्डको विशेष प्रस्तुति रहनुका साथै मुलुकका सातै प्रदेशको संस्कृति झल्कने प्रस्तुति तथा ख्यातिप्राप्त कलाकारको सहभागिता रहनेछ । रङ्गशालाका चारै किनारामा ऋषिमुनिका मूर्ति राखिएका छन् । उद्घाटन सत्रमा भ्रमण वर्षाङ्कित ठूलाठूला सेतो बेलुन उडाइनेछन् ।

राष्ट्रियस्तरका टेलिभिजन र सञ्चारकर्मी भ्रमण वर्ष उद्घाटनको समाचार सङ्कलन र उद्घाटनको प्रत्यक्ष प्रसारणको तारतम्य मिलाँदैछन् काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पनि रङ्गशाला हुने उद्घाटन समारोह प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ । उद्घाटन समारोहमा १९ देशका उच्च अधिकारी आउनेछन् । उहाँले नेपाललाई अन्तरराष्ट्रिय रुपमा परिचित गराउनका लागि ५० जना विदेशी मिडियाका सञ्चारकर्मी आउने भएका छन् ।

भ्रमण वर्षको उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण सातै प्रदेशमा फ्लेक्समार्फत पनि सर्वसाधारणले हेर्न सक्ने व्यवस्था गरिएको छ । सातै प्रदेशमा मुख्यमन्त्रीको समन्वयमा स्क्रिन हालेर काठमाडाँैमा भएको उद्घाटन कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । उद्घाटनका लागि सचिवालयले करीब रु चार करोड खर्च गर्ने अनुमान गरिएको छ । भ्रमण वर्षले झपक्कै छोपेपछि शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत चौथो चरणको खेल रङ्शालाबाट स्थान सारेर सतदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा लगिएको छ ।      

यसैविच, पर्यटन वर्षको सुरूको दिन भक्तपुर नगरपालिव्दारा बुधबार बिहान सबेरै दरबार क्षेत्र प्रवेश गरेका १८ विदेशी पर्टयकलाई भादगाउँले टोपी लगाएर  नगरप्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन् । । नगर प्रवेश गर्ने पहिला विदेशी पर्यटकलाई निःशुल्क प्रवेशको व्यवस्था समेत गरिएको थियो ।

नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई ढाकाटोपीले सम्मान   

झापा । झापाको पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरेर नेपाल भ्रमण वर्ष २०२० को आज बिहान उद्घाटन गरिएको छ ।

नाकाबाट नेपाल प्रवेश गर्ने पहिलो पाहुना भारतीय नागरिक प्रिंयका मल्लिक, पिंकी मजुमदार, मामुनी मल्लिक, श्वेता खड्कालगायतलाई टाकाटोपी र रुद्राक्षको माला लगाएर कार्यक्रमका प्रमुख अतिथि सङ्घीय सांसद राम कार्की, प्रवेश सभा सदस्यद्वय श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकी, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यलगायतले सम्मान गर्नुभएको थियो ।

मेचीनगर पर्यटन समितिको आयोजनामा काँकडभिट्टामा गरिएको कार्यक्रममा भारतका विभिन्न स्थान जाने गाडीमा नेपालका पर्यटकीयस्थलहरुका बारेमा जानकारी समेटिएको ब्यानर टाँसिएको थियो । नाका क्षेत्रमा नेपाली झण्डा राखेर सजाइएको छ ।

कार्यक्रममा विभिन्न जातजातिको झाँकी प्रदर्शन गरिएको थियो । झाँकीमा नेवारमा समुदायको लाखेनाच, किराँत समुदाय, मेचे, सन्थाल, किसानलगायत विभिन्न जातजातिका झाँकीसहितको सांस्कृतिक नृत्य प्रस्तुत भइरहेको छ । दिनभर काँकडभिट्टामा जातीय पहिचान, कला संस्कृति झल्कने सांस्कृति कार्यक्रम प्रस्तुत गरिने र नेपालका पर्यटकीयस्थलका बारेमा दृश्यबोर्ड राखेर जानकारी गराइने नगर पर्यटन विकास समितिका संयोजक तथा नगर उपप्रमुख मीना उप्रेतीले बताउनुभयो ।

पूर्वी नाकाबाट नेपाल आउने पर्यटकलाई मेचीनगरका पर्यटकीयस्थलका बारेमा जानकारी दिनका लागि काँकडभिट्टादेखि चारआलीसम्मका क्षेत्रमा होर्डिङबोर्डहरु राखिएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation