भ्रमण वर्षः पहिलो हवाई यात्रुलाई सम्मान

 अर्थ बुलेटिन   १६ पौष, २०७६



भद्रपुर ।  भद्रपुर विमानस्थल हुँदै काठमाडौं जाने र आउने दुवै हवाई यात्रुलाई आज सम्मान गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा उनीहरुलाई ढाकाटोपी, फूलमाला र अबिरले सम्मान गरिएको हो । 

भद्रपुर नगरपालिका, विभिन्न सामाजिक सङघसंस्था, सहकारी संस्था र नेपाल कम्यु्निष्ट पार्टी पर्यटन विभाग झापा समितिले संयुक्त रुपमा आज बिहान पहिलो उडान श्री एयरलाइन्स र दोस्रो बुद्ध एयलाइन्सद्वारा काठमाडौबाट भद्रपुर विमानस्थल हुँदै आएका यात्रुलाई सम्मान गरेको नेपाल नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख पूर्णप्रसाद चुँडालले बताउनुभयो । 

नगरपालिका र उड्डयन कार्यालयको संयुक्त पहलमा पूर्वी नेपालका पर्यटकीयस्थलबारे जानकारी दिन विमानस्थलमै डिजिटल डिस्प्ले बोर्डसमेत राखिएको छ । विमानस्थलबाट बाहिरिने यात्रुलाई पर्यटकीयस्थलका बारेमा जानकारीसहितको ब्रोसर बाँडिएको थियो । प्रमुख चुँडालले काठमाडौंँबाट झापा हुँदै आउने यात्रुलाई नेपालको होचो भूभाग केचनाकवलदेखि विश्वको अग्लो सर्वोच्च शिखर सगरमाथासम्म एकै दिन घुमाएर ल्याउने व्यवस्थासमेत मिलाइएको बताउनुभयो । 

उहाँले विमानस्थलबाट केचनाकवल गाडीमा लैजाने र सगरमाथाको आधारशिविरसम्म जान चाहने यात्रुलाई सीता एयरलान्यसद्वारा सोलुखम्बुको लुक्ला विमानस्थल पु¥याइने योजना रहेको बताउनुभयो । उहाँका अनुसार आजदेखि शुरु गरिएको पहिलो हवाई यात्रुलाई सम्मान कार्यक्रम सात दिनसम्म चल्ने छ ।    

 पहिलो पर्यटकलाई ढाकाटोपी  

झापाको पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरेर नेपाल भ्रमण वर्ष २०२० को आज बिहान उद्घाटन गरिएको थियो । सङ्घीय सांसद राम कार्की, प्रदेशसभा सदस्यद्वय श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकी, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यलगायतले नाकाबाट नेपाल प्रवेश गर्ने पहिलो पाहुना भारतीय प्रियङ्का मल्लिक, पिङ्की मजुमदार, मामुनी मल्लिक, श्वेता खड्कालगायतलाई ढाकाटोपी र रुद्राक्षको माला लगाएर सम्मान गर्नुभएको थियो । मेचीनगर पर्यटन समितिको आयोजनामा काँकडभिट्टामा गरिएको कार्यक्रममा भारतका विभिन्न स्थान जाने गाडीमा नेपालका पर्यटकीयस्थलका बारेमा जानकारी समेटिएको ब्यानर टाँसिएको थियो । नाका क्षेत्रमा नेपाली झण्डा राखेर सजाइएको छ ।  

कार्यक्रममा विभिन्न जातजातिको झाँकी प्रदर्शन गरिएको थियो । झाँकीमा नेवारमा समुदायको लाखेनाच तथा किराँत, मेचे, सन्थाल, किसानलगायत विभिन्न जातजातिका झाँकीसहितको सांस्कृतिक नृत्य प्रस्तुत गरियो । दिनभर काँकडभिट्टामा जातीय पहिचान र कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने र नेपालका पर्यटकीयस्थलका बारेमा दृश्यबोर्ड राखेर जानकारी गराइने नगर पर्यटन विकास समितिका संयोजक तथा नगर उपप्रमुख मीना उप्रेतीले बताउनुभयो । पूर्वी नाकाबाट नेपाल आउने पर्यटकलाई मेचीनगरका पर्यटकीयस्थलका बारेमा जानकारी दिनका लागि काँकडभिट्टादेखि चारआलीसम्मका क्षेत्रमा होर्डिङबोर्ड राखिएको छ ।    
 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation