तमोर आयोजना निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बन्ने

 अर्थ बुलेटिन संवाददाता   ५ माघ, २०७६



काठमाडौं । ७६२ मेगावाटको तमोर आयोजना निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बन्ने भएको छ ।

तमोर जलासययुक्त आयोजना निर्माणका लागि लगानी बोर्ड र पावर कन्ट्रक्सन कर्पोरेशन अफ चाइना लिमिटेड बीच यस सम्बन्धी समझदारीपत्रमा आइतबार हस्ताक्षर भयो ।

बोर्डका सीईओ महाप्रसाद अधिकारी र पावर चाइना युरो एसियाका भाइस प्रेसिडेन्ट पान डेन्ग्युले एमओयूमा हस्ताक्षर गरे ।

अब तत्काल  आयोजनाको संभाव्यता अध्ययन सुरु गर्ने र २ वर्षभित्र निर्माणको चरणमा पुर्याउने सहमति भएको छ ।

पावर चाइना र नेपाली साझेदार हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) बीच एमओयू भइसकेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणका क्रममा असोज २६ गते तमोर आयोजना संयुक्त लगानीमा बनाउन पावर चाइना र नेपालको एचआईडीसीएलबीच एमओयू  भइसकेको छ ।

साझेदार पावर चाइना र एचआईडीसीएलले २ वर्षभित्र आयोजनाको निर्माण सुरु गर्ने कार्ययोजना बनाएका छन् । एमओयूपछि आयोजनाको विस्तृत इन्जिनियरिङ (डीपीआर) को काम सुरु हुनेछ ।

२ वर्षभित्र डीपीआर काम र लगानी जुटाएर तमोर आयोजनाको निर्माण सुरु हुने छ । डीपीआर तयारपछि मात्र आयोजनाको वास्तविक क्षमता र लगात निर्धारण हुने छ ।

तमोर बनाउन पौने २ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजना बनाउन नेपालमा बेग्लै कम्पनी स्थापना हुने छ ।

तमोरमा न्यूनतम २६ प्रतिशत नेपाली लगानी सुनिश्चित गरिएको छ । नेपालीले ५१ प्रतिशतसम्म लगानी गर्न सक्ने छन ।

पावर चाइना र एचआईडीसीएलले प्रतिस्पर्धाबाट तमोर  पाएका हुन । तमोर आयोजनाको ऋण व्यवस्थापन तथा अन्य कार्य पावर चाइनाले गर्ने छ ।

सार्वजनिक – निजी साझेदारी पीपीपी खाकामा आयोजना निर्माण गर्ने गरी प्रस्ताव गरिएको हो ।

गत चैत १५ र १६ गते सम्पन्न भएको लगानी सम्मेलनमा ऊर्जामा सोही आयोजनाका लागि दुई वटा प्रस्ताव प्रस्तुत भएको थियो । गत साउन १६ गतेको बोर्ड बैठकले एचआइडीसीएल तथा पावर चाइना संयुक्त र कतारको नेब्रस पावर तथा जापानको फुजी इलेक्ट्रिकलाई छनोट गरी प्रस्ताव माग गरिएको थियो ।

हाल उक्त प्रस्तावमाथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा गठित समितिले मूल्याङन गरेको थियो । समितिको मूल्यांकनअनुसार नै एमओयू भएको हो । तमोर आयोजनाबाट पूर्वी नेपालको पाँचथर, ताप्लेजुङ, तेह्रथुम र संखुवासभा जिल्लामा पर्छ  । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation