हिमाली तथा पहाडी जिल्लामा आज फागु अर्थात् होली पर्व मनाइँदै

 अर्थ बुलेटिन संवाददाता   २६ फागुन, २०७६



काठमाडौं । आज फागुन शुक्ल पूर्णिमा ।  हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ ।  आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्वलाई रङहरुको पर्व पनि भनिन्नछ । 

तर कोरोनाको जोखिम बढेकाले यसपालि अघिल्ला वर्षहरु जस्तो होलीको रौनक छैन । ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको सरकारले सामूहिक रुपमा होली नखेल्न, भीडभाड गर्ने तथा लोला पानी हाल्ने काम नगर्न सबैसँग अनुरोध गरेको छ ।

गृह मन्त्रालयले सूचना निकालेर लोलापानी फ्याँक्ने, रंग तथा अबिर दल्ने काम जोखिमपूर्ण हुने हुँदा यस्ता गतिबिधि नगर्न अनुरोध गरेको छ ।

डाक्टरहरुले पनि पहिलेका वर्षहरुमा जस्तो यसपटक जमघट भएर होली नखेल्न आग्रह गरेका छन् । भिडभाडमा जाँदा र पानीमा भिज्दा सङ्क्रमणको डर हुने भएकाले सजक हुन उनीहरूको आग्रह छ । नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरू हुन्छ ।

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । तराईमा भने मङ्गलबार होली मनाइँदै छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation