बजारमा माग बढे पनि पेट्रोलियम पदार्थ अभाव छैनः आयल निगम

 अर्थ बुलेटिन संवाददाता   ४ चैत, २०७६



काठमाडौं । नेपाल आयल निगमले बजारमा पेट्रेलियम पदार्थको आयात र वितरणमा कुनै समस्या नभएको जनाएको छ ।  निगमले  कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढेका बेला भारतबाट आयात बन्द हुने आशंकामा बजारमा माग बढेको भएपनि आपूर्तिमा कुनै समस्या नभएको भन्दै अभाव समेत नरहेको बताएको हो । 

मंगलबार  निगमका प्रवन्ध निर्देशक सुशीलकुमार पौडेलले काठमाडौंमा आयोजित  साक्षत्कारमा बोल्दै पेट्रोलियम पदार्थको माग अत्याधिक बढेको तर आयात र वितरणमा कुनै समस्या नरहेको बताएका हुन्  ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले पेट्रोलियम पदार्थको वितगरमा निरन्तर अनुगमन भइरहेको बताए । उनले ग्यासको वितरण प्रणालीमा भने केही समस्या देखिएकाले बजारमा अभाव देखिएको बताए ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष खगेश्वर बोहोराले बजारमा पेट्रोलियम पदार्थको ढुवानीमा कुनै समस्या नरहेको बताए । उनले ७ वटै नाकाबाट पेट्रोल आयात भइरहेको र निगमले उपलब्ध गराए अनुसार पेट्रोलियम पदार्थ बजारमा पु¥याउन कुनै समस्या नरहेको उनले बताए ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले अहिलेसम्म ग्यास आपूर्तिमा कुनै समस्या नरहेको बताए । उनले दैनिक रुपमा १ लाख सिलिण्डर बिक्री वितरण भइरहेको बताए ।

कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँग पछिल्लो समय बजारमा पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । तर आयल निगम र सम्बद्ध व्यवसायीहरुले भने बजारमा कुनै कृतिम अभाव नभई माग बढेकाले समस्या देखिएको दावी गरेका छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation