देशका विभिन्न स्थानमा लकडाउन उल्लङ्घन गर्ने ६८ जना समातिए

 अर्थ बुलेटिन संवाददाता   ११ चैत, २०७६



काठमाडौं । सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जना पक्राउ परेका छन् । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि  लागू गरेको लकडाउन उल्लङ्घन गर्नेहरुलाई  प्रहरीले देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

प्रहरी प्रवक्ता डीआईजी शैलेश थापाका अनुसार   लकडाउन उल्लङ्घन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४ जना, पर्साबाट ३ जना, सिरहाबाट २ जना, कञ्चनपुर २ जना र धनुषाबाट १ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको  छ ।

साथै लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका १ हजार ५ सय ७१ सवारी साधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको डीआईजी  थापाको भनाइ छ ।

यस सम्बन्धमा प्रहरीले कोरोना संक्रमणको संभावित जोखिम बारे सम्झाई बुझाई गर्नुका साथै आवश्यक सोधपुछ तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

एक साताका लागि सरकारले मंगलबार बिहान ६ बजेदेखि आगामी चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशैभर लक डाउन गर्ने निर्णय गरेको हो । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation