गोदावरीमा ५१ लाखको कोष खडा

 अर्थ बुलेटिन संवाददाता   १३ चैत, २०७६



ललितपुर ।  गोदावरी नगरपालिकाले रु ५१ लाखको आकस्मिक कोष खडा गरेको छ । कोभिड–१९को सङ्क्रमणबाट नगरवासीको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राखी यसको न्यूनीकरणका लागि उक्त कोष खडा गरिएको हो । 

कोषमा सहयोग गर्न चाहने इच्छुक सङ्घसंस्था, व्यवसायी, बुद्धीजिवी, सहकारीलगायतका महानुभावहरुलाई नेपाल बैंक लिमिटेड, चापागाउँ शाखामा रहेको ०७८००१००६२८०२३०००००१ नं.को खातामा रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।    
    
छ स्थानबाट एम्बुलेन्स सेवा शुरु गरिने  

नगरपालिकाले नगर क्षेत्रका छ स्थानबाट एम्बुलेन्स सेवा शुरु गर्ने भएको छ । कोही कसैलाई कोराना भाइरसको सङ्क्रमण वा आशङ्का भई तत्काल स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुपरेमा एम्बुलेन्स सेवाका लागि उक्त निर्णय गरिएको हो । 

नगरपालिकाले वडा नं ३ गोदावरी, ५ लेले, ६ आनन्दवन अस्पताल, ८ डुकुछाप, ११ बज्रबाराही र १२ ठेचोबाट सो सेवा सञ्चालन गरिने जनाएको छ ।  नगरपालिकाका अनुसार यदि यी एम्बुलेन्स सेवा व्यस्त रहेमा नगरपालिका प्रमुख गजेन्द्र महर्जन र उपपमुख मुना अधिकारीद्वारा प्रयोग गर्दै आउनुभएका सवारी साधनलाई समेत एम्बुलेन्सको रुपमा प्रयोग गर्न सक्नेछ ।    
    
चार हजार ४८० बोरा चामल मौज्दात   

नगरपालिकाका प्रमुख महर्जनसहितको टोलीले बजार अनुगमन गर्दा प्याङ्गाउँ–चापागाउँ–ठेचोमा अवस्थित खाद्यान्न स्टोरहरुमा चार हजार ४८० बोरा चामल आजसम्म मौज्दात रहेको बताएका छन् । 

मुलुकमा कोभिड–१९ को त्रास बढेसँगै यी क्षेत्रमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना हुन नदिने उद्देश्यका साथ गरिएको अनुगमनका क्रममा सो मौज्दात रहेको पाइएको छ । अनुगमनको क्रममा ३२५ बोरा दाल, ३२४ बोरा चिनी, ७४५ बाकस तेल, १४२ बोरा नुन, केही बोरा गेडाडुडी र मैदाको पिठो पनि मौज्दात रहेको नगरपालिकाले जनाएको छ । 

यसैगरी गोदावरीले यी स्टोरका अलवा अन्य किराना स्टोरमा पनि केही समयका लागि आवश्यक खाद्यन्न रहेको जानकारी गराएको छ । अनुगमन टोलीमा प्रमुख महर्जनसहित वडाध्यक्ष जगतबहादुर महर्जन, निलबहादुर देशार, दर्शनकुमार विष्ट, महानगरीय प्रहरी परिसर चापागाउँका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णराज ओझा र गोदावरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जगनाथ महर्जन रहेका थिए ।    
    
कोरोना प्रतिकार्य टोली गठन    
    
नगरपालिकाले महानगरीय प्रहरी वृत चापागाउँका १५ प्रहरी सम्मिलित कोराना प्रतिकार्य टोली गठन गरी तत्काल परिचालन गरिने व्यवस्था मिलाएको छ । यी प्रहरी टोलीले कोभिड–१९ विरुद्धका विभिन्न काम गर्नेछन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation