थप तीनमा कोभिड–१९ को सङ्क्रमण

 अर्थ बुलेटिन संवाददाता   ३० चैत, २०७६



 काठमाडौँ । नेपालमा थप तीन व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा रहेका तीन व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो । 

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले राष्ट्रिय प्रयोगशालामा गए राति भएको परीक्षणबाट तीन व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँले कोभिड सङ्क्रमित व्यक्तिमध्ये वर्ष ३७, ५५ र ४४ का पुरुष रहेको बताउनुभयो ।

 वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मस्जिदमा शङ्कास्पदरूपमा रहेका २१ जनाको परीक्षण गर्दा कोभिडको शङ्का लागि नारायणी अस्पतालको आइसोलेशनमा राखिएको थियो । उनीहरुको समेत थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटाँैडाको ल्याबमा परीक्षण गरिएकामा २१ मध्ये शङ्कास्पद तीनजनाको पोजिटिभ देखिएपछि पुनः यकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । 

 कोभिड पुष्टि भएका व्यक्तिलाई आइसोलेशनमा राखिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा देवकोटाले बताउनुभयो । कोभिड सङ्क्रमितको संसर्ग र निजहरू गएको स्थान पहिचान गरी ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने कार्य पनि शुरु भइसकेको मन्त्रालयले जनाएको छ । 

 स्वास्थ्य मन्त्रालयले हाल कोभिड–१९ सङ्क्रमितको सङ्ख्या थपिरहेको अवस्थामा थप रणनीति बनाउँदै लकडाउनको पूर्णरुपमा पालना गर्न आम सर्वसाधारणमा अनुरोध गरेको छ । प्रवक्ता डा देवकोटाले कोभिड–१९ को परीक्षणको दायरा बढाएर समयमै सङ्क्रमितको पहिचान गरी भावी रणनीति तय गर्न सहज हुने भन्दै यस कार्यमा सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।   

 मन्त्रालयले अहिलेसम्म पिसिआर प्रविधिबाट पाँच हजार १८४ जनाको परीक्षण गरिसकेको छ । पछिल्लो चौबिस घण्टामा ७९५ जनाको परीक्षण गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पहिल्लो २४ घण्टामा ६२८ समेत अहिलेसम्म जम्मा चार हजार २० जनाको परीक्षण भएको छ । काठमाडौँ उपत्यकाबाहिरका प्रयोगशाला पछिल्लो २४ घण्टामा १६७ समेत एक हजार १६४ को परीक्षण भएको छ ।  

 देशभरमा अहिले आइसोलेशनमा ८५ र क्वारेइन्टाइनमा सात हजार ९७३ रहेका छन् । आइसोलेशनमा काठमाडौँमा १५ र उपत्यकाबाहिर ७० जना छन् । ¥यापिड टेस्ट किट सबै जिल्लामा पुगेर काम शुरु भइसकेको मन्त्रालयले जनाएको छ । तीन हजार ३२१ जना ¥यापिड टेस्ट भएको छ । मन्त्रालयले कल सेन्टर १११५ र ११३३ मा गरेर तीन हजार १३६ कल रिसिभ गरेको छ । मोबाइल एप्स र वेबसाइटबाट क्वारेइन्टाइन रहेकासँग सम्पर्क भइरहेको छ । 

 मन्त्रालयले सम्भावित सङ्क्रमितको खोजी गर्ने क्रममा एक हजार ५७० ले विवरण भर्न भनिएको छ । तीमध्ये ९५४ जना इन्ट्री गरेको बताइएको छ । पछिल्लो २४ घण्टामा १७ जना रेड जोनमा रहेको पहिचान गरिएको छ । यससँगै रेड जोनमा पर्नेको सङ्ख्या हालसम्म २०६ पुगेको छ । 

 यसैबीच मन्त्रालयलाई गैरआवासीय नेपाली सङ्घ समन्वय परिषद् दक्षिण कोरिया र देउराली जनता फर्माले अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सरकारले दार्चुला जिल्लामा ४६० जनाको पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गरेको प्रवक्ता देवकोटाले बताउनुभयो । बाँकी कोभिड सङ्क्रमितमध्ये दुईजनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेशनमा उपचार भइरहेको छ । थप दुई बाग्लुङ र चारजनाको सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा रहेका छन् । 

 दोस्रोपटक गत चैत १० गते १९ वर्षीया युवतीमा कोभिडको सङ्क्रमण देखापरेको थियो । चैत ४ गते कतार एयरवेजको जहाजमार्फत फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोभिड–१९ पोजेटिभ देखिएको थियो । 

 त्यस्तै चैत १२ गते पुनः एकजनामा कोभिड पोजिटिभ देखिएको थियो । यस्तै चैत २० गते बाग्लुङका ६५ वर्षीया एक ज्येष्ठ नागरिकमा कोभिड पुष्टि भएको थियो । पछिल्लोपटक चैत २२ गते एकै सुदूरपश्चिममा थप तीनजनामा कोभिड सङ्क्रमण भेटिएको थियो । भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । 

 नेपालमा माघ ९ गते पहिलो पटक चीनको वुहानबाट आएका नेपालीमा कोरोना देखिएको थियो । चीनको वुहानमा गत डिसेम्बर ३१ मा पहिलोपटक देखिएको कोभिड–१९ को सङ्क्रमण हाल विश्वका दुई सयभन्दा बढी फैलिसकेको अन्तर्राष्ट्रिय तथ्याङ्कले देखएको छ । कोभिडबाट विश्वभर एक लाखभन्दा बढीको मृत्यु भएको छ भने झण्डै १७ लाख सङ्क्रमित भएका छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation