कोरोना भाइरसबाट निको हुने ७०, सङ्क्रमित ५०७

 अर्थबुलेटिन संवाददाता   ९ जेठ, २०७७



काठमाडौँ ।  कोरोना भाइरस सङ्क्रमण भएका थप २१ जना आज निको भई घर फर्कनुभएको छ । आज निको हुने सबै सङ्क्रमित बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइराख्नुभएको थियो । निको हुनेमा महिला नौ र पुरुष १२ रहनुभएको छ । योसँगै निको हुनेको सङ्ख्या ७० पुगेको छ । २० दिनको अस्पताल बसाइपछि उहाँहरु आज घर जानुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । 

 त्यसैगरी स्वास्थ्य मन्त्रालयले पछिल्लो समय १९ जनामा कोभिड–१९ बाट सङ्क्रमण भएको पुष्टि भएको छ । अहिलेसम्ममा नेपालमा सङ्क्रमितको सङ्ख्या ५०७ पुगेको मन्त्रालयले पुष्टि गरेको छ । सङ्क्रमित हुने कैलालीको जानकी गाउँपालिकाका १९, २३ र २६ वर्षका पुरुष रहनुभएको जनाइएको छ । डडेल्धुराका २८ र बैतडीका २२ वर्षका पुरुष रहनुभएको छ । बाँकेका १४ जना सङ्क्रमित हुनुभएको छ । आज सङ्क्रतित हुने १८ देखि ६१ वर्ष उमेर समूहका रहेका र स्वास्थ्य अवस्था पनि सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।    
    
 त्यसैगरी हालसम्म यो भाइरस सङ्क्रमण हुने जिल्ला ४० पुगेको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । सरकारले हालसम्म पिसिआर विधिबाट ४२ हजार ४८८ को परीक्षण गरेको छ भने आरडिटीबाट ८२ हजार ११६ को परीक्षण गरेको छ ।    
 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation