प्रथम महिला न्यायाधीशको निधनमा चिरशान्तिको कामना

 अर्थबुलेटिन संवाददाता   ११ जेठ, २०७७



काठमाडौँ । सर्वोच्च अदालतको आज बसेकोे आकस्मिक पूर्ण बैठकले सर्वोच्च अदालतको प्रथम महिला न्यायाधीश सुशीला सिंह ‘शिलु’ को आत्माको चिरशान्तिको कामना गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको आकस्मिक बैठकले पूर्वन्यायाधीश सिंहको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरी शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो ।    
    
काठमाडौँ जिल्लाको सोह्रखुट्टेमा १९९६ साल फागुन २२ गते जन्मनुभएका सिंह २०५८ वैशाख ६ गतेदेखि सर्वोच्च अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्त हुनुभएको थियो भने २०५९ साल पुस १५ गते स्थायी न्यायाधीशमा नियुक्त भई २०६२ साल फागुन २२ गते उमेर हदका कारण अवकाश लिनुभएको थियो ।    
    
बैठकले पूर्वन्यायाधीश सिंहको शुक्रबार भएको असामयिक निधनले न्याय र कानूनका क्षेत्रमा अपूरणीय क्षति भएको जनाएको छ । सर्वोच्च अदालतमा न्यायाधीशका रुपमा रहँदा उहाँले न्यायालयको श्रीवृद्धिका लागि योगदान अतुलनीय रहेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । विशेषगरी देवानी र फौज्दारी कानूनका क्षेत्रमा विशेष दखल राख्ने उहाँ एक निर्भीक, मिलनसार, मृदुभाषी, न्यायको मर्मज्ञ, कानूनको क्षेत्रमा अनुभवी न्यायिक व्यक्तिका रुपमा रहनुभएको थियो । उहाँको शनिबार अन्तिम संस्कार गरिएको छ ।   



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation