२४ घण्टामा २ सय ५९ जना कोरोना संक्रमित थपिए ६५ जनाले जिते कोरोना

 अर्थबुलेटिन संवाददाता   २० सावन, २०७७



 काठमाडौं । नेपालमा थप २ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन आयोजना गरेर उक्त जानकारी गराएको हो । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार यससँगै संक्रमितको संख्या २१ हजार ९ पुगेको  छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा  थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६२ जनामा कोरोना संक्रमण भएको प्रवक्ता देवकोटाले बताए ।

संक्रमितहरु काठमाडौँका ४८ जना, भक्तपुरका १३, ललितपुरका १ गरी कुल ६२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको हो । त्यस्तै, गत २४ घण्टामा थप ६५ जनाले कोरोना जितेका छन् ।

यससँगै निको हुनेको संख्या १५ हजार २६ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६ सय ८७ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation