सवारी पासमा नयाँ व्यवस्था, निवेदन दिएको भोलिपल्ट मात्रै पाइने

 अर्थबुलेटिन संवाददाता   २३ सावन, २०७७



काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ । अब अत्यावश्यक कामका लागि गाडीको पास चाहिएमा काठमाडौं प्रशासनमा अघिल्लो दिन निवेदन दिएर जाने तथा त्यसको भोलिपल्ट मात्रै पास लिनका लागि आउनुपर्ने भएको हो ।

काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढेपछि कार्यालय परिसरमा मानिसको अत्याधिक भीड हुन थालेको र सार्वजनिक निकायका व्यक्तिहरूमा समेत कोभिड–१९ देखिन थालेकाले जिल्ला प्रशासन कार्यालयले यस्तो नियम बनाएको जनाएको छ ।

प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले भीडभाड रोक्न र सामाजिक दूरी कायम गर्न उक्त व्यवस्था गरिएको  जानकारी दिए । निवेदन दिएर सोही दिन पास लिन कुर्दा मानिसको भीडभाड बढी हुने भएकाले त्यस्तो व्यवस्था गरिएको जनाइएको छ ।

पाण्डेका अनुसार अघिल्लो दिन सङ्कलन भएको निवेदनको आधारमा भोलिपल्ट बिहान ८ बजेबाट पास वितरण गरिने छ । त्यसका लागि गेटमै निवेदन दिने र सोही स्थानबाट पास लिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । काठमाडौं उपत्यकामा बिहीबार मात्रै ८७ जनामा संक्रमण देखिएको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation