नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलीजेन्सऔद्योगिक र पेशागत पृष्ठभूमीका ब्यक्तिहरुका लागि अवशर

 अर्थ बुलेटिन   १८ असार, २०७८



काठमाडौं । आर्टिफिसियल इन्टेलीजेन्स (ए.आई.) को क्षेत्रमा ख्याति कमाएको सेवाप्रदायक संस्था फ्यूजमेशिन इन्क. ले AI2Go तालिम कार्यशालाको आयोजना गर्ने आज घोषणा गरेको छ जुन नेपालका लागि अहिलेसम्मकै नयाँ ए.आई. कार्यक्रम हो ।

ए.आई. संबन्धी समग्र विषयहरुलाई समेटेर तयार गरिएको यो अनलाईन तालिम कार्यक्रम लगातार चार हप्तासम्म चल्नेछ । कम्प्युटर विज्ञान वा यस संबन्धी प्राविधिक ज्ञान सीप पटक्कै नभएका वा सीमित ज्ञान भएका पेशाकर्मीहरु तथा कम्प्युटरमा काम गरिरहेका तर ए.आई संबन्धी पुष्ठभूमि नभएका सहभागीहरु यस तालिमको माध्यमबाट लाभान्वित हुन सक्नेछन् ।

यस तालिम कार्यक्रमको मुख्य लक्ष भनेको सहभागीहरुलाई ए.आई.का बारेमा आधारभूत ज्ञान सीपहरुले युक्त बनाउनु र उनीहरुले काम गरिरहेको पेशागत क्षेत्रमा ए.आईं. तथा मेसिन लर्निङ (Machine Learning)को बारेमा सिर्जनात्मक ढंगले सोच्ने र जिम्मेवारीपूर्वक काम गर्न सक्ने गरी उनीहरुको क्षमता अभिबृद्धि गर्नु रहेको छ ।

यस तालिम कार्यक्रममा आठवटा प्रत्यक्ष अनलाइन सत्रहरु समावेश गरिएको छ । ती सत्रहरुको क्रममा अमेरिकाका ए.आई. क्षेत्रका उल्लेखनीय विज्ञ, प्राध्यापकहरु र कम्प्युटर बैज्ञानिकहरुले गेष्ट लेक्चरको रुपमा कक्षाहरु लिनेछन् भने प्रोगामिङ संबन्धी प्रयोगात्मक कक्षाहरु पनि संचालन गरिनेछ । 

यस तालिम कार्यक्रममा सहभागी प्रशिक्षार्थीको सुविधा अनुसार डेस्कटप कम्प्युटर वा मोबाइल फोनमध्ये जुनसुकैबाट पनि जोडिन सकिनेछ र सहभागीहरुले प्रशिक्षणका विषयहरुसित संबन्धित अतिरिक्त अध्ययन सामाग्रीहरु तालीम अवधि भित्र आफूलाई अनुकुल पर्ने जुनसुकै समयमा पनि डाउनलोड गरेर लिन सक्नेछन् ।

सहभागी प्रशिक्षार्थीहरुले AI2Go तालिम कार्यशालाको अन्तमा मेसिन लर्निङ (Machine Learning), आर्टिफिसियल इन्टेलीजेन्स (ए.आई.), डीप लर्निड. (Deep Learning), क्लासिफिकेसन (Classification) रिग्रेसन (Regression), मेसिन लर्निङ वर्कफ्लो (Machine Learning Workflow) संबन्धी समग्र जानकारी, डाटासेट (dataset) र ए.आई.मोडेल (AI model) सिर्जना, कम्प्युटर भिजन (Computer Vision), नेचरल ल्याड्ग्वेज प्रोसेसिङ (Natural Language Processing) र एम.एल.मोडेल (ML model) निर्माणका लागि आवश्यक पर्ने पाइथन (python) संबन्धी कार्यमूलक ज्ञान प्राप्त गर्ने लक्ष लिइएको छ ।

फ्यूजमेशिनका वरिष्ठ ए.आई. अनुसन्धानकर्ता बुलान्त उयानाइकरको शब्दमा भन्दा– “ए.आई. प्रतिको बढदो सचेतनता र डिजिटल रुपान्तरणको युगमा प्रवेश गर्नका लागि सामुहिक आतुरताका बाबजुद पनि यस विषयसित संबन्धित ज्ञान र अनुभव भएका सक्षम ब्यक्तिहरुको अभाब गंभीर रुपमा नै खट्किइ नै रहेको छ ।” उहा जोडदिंदै भन्नुहुन्छ– “एकातिर हामीले AI2Go जस्ता गंभीर प्रकृतिका तालिमहरुको माध्यमबाट ए.आई संबन्धी ज्ञानको पहुँच बृद्धि गर्न प्रयत्न गरिरहेका छौं भने सँगसंगै नेपालका पेशागत समुदायलाई पुनर्सिप र सीप अभिबृद्धिको उपायबाट  सशक्तिकरण गर्दै उनीहरु कार्यरत क्षेत्रमै त्यसको उपयोग गर्ने वा बिशुद्ध ए.आई. केन्द्रीत नयाँ पेशामा प्रवेश गर्ने अवसरको पनि ढोका खोलिदिएका छौं ।”

फ्यूजमेशिनका सी.ई.ओ. समीर मास्के भन्नुहुन्छ– “देशका हरेक भागमा बस्ने ब्यक्तिहरुका लागि उच्च गुणस्तरको ए.आई शिक्षाको अवसर उपलब्ध गराउने उद्देश्यले दुई वर्ष अघि हामीले ‘नेपालका लागि ए.आई.शिक्षा कार्यक्रम’ संचालन गरेका थियौं ।

एकातिर हामीले कम्प्युटर विज्ञान र सूचना प्रविधिका सयौं विद्यार्थीहरुलाई निरन्तर ए.आई.को तालिम अवसर उपलब्ध गराउँदै आएका छौ भने नेपालका अप्राविधिक पेशाकर्मीहरुले पनि देखाएको चासोबाट हामी विशेष उत्साहित भएका छौ ।

नेपालमा ए.आई.माथि सर्बसाधारणको पहुँच पुर्याउने हाम्रो यात्रालाई अझ गति प्रदान गर्नका लागि हामीले अप्राविधिक क्षेत्रका पेशाकर्मीहरुलाई पनि यस्तै प्रकृतिका तालिमका अवसरहरु बढाउँदै लानुपर्छ । अनि मात्र हामीले नेपालमा ए.आई. शिक्षा र पेशागत अवसरका दुबै क्षेत्रलाई संबृद्ध बनाउन सही रुपमा सफलता प्राप्त गर्न सक्नेछौ ।”

पुनश्च : AI2Go तालिम कार्यक्रम संचालन गर्नु अघि फ्यूजमेशिनले ‘नेपालका लागि ए.आई. शिक्षा’ ‘ए.आई.–फाउन्डेसन’, ‘माइक्रोडिग्री’ लगायत यस्तै प्रकृतिका चलिरहेको तालिम कायक्रमहरु नेपालका विभिन्न शैक्षिक संस्थाहरुसंगको रणनीतिक साझेदारीमा संचालनको पहलकदमी लिएको थियो । अहिले संचालन हुने AI2Go तालिम कार्यशाला र यसमा सहभागी हुने प्रकृयाका वारेमा विस्तृत जानकारीको लागि हाम्रो वेबसाइट fuse.ai/ai2go भ्रमण गनुृहोला । 

फ्यूजमेशिन इन्क. का बारेमा

आर्टिफिसियल इन्टेलीजेन्स (ए.आई.) लगायत आफ्ना अन्य सेवाहरुको माध्यमबाट उद्यम ब्यबसाय क्षेत्रमा उपलब्धी भित्र्याउनमा नाम कमाएको संस्था फ्यूजमेशिनको स्थापना सन २०१३ मा भएको हो । अमेरिकाको कोलम्बिया विश्वविद्यालयका सहप्राध्यापक समीर मास्के (पीएच.डी) ले प्रमुख कार्यकारी अधिकृत (सी.ई.ओं) को जिम्मेवारीमा बसेर नेतृत्व गरिरहनुभएको हाम्रो यो संस्थाले ए.आई.को आवश्यकता र महत्वलाई बुझेका तर दक्ष ए.आई. इन्जिनियरको अभावसित संघर्ष गरिरहेका संस्थाहरुलाई मद्दत पुर्याउने काम गर्छ ।

हामीसंग उपलब्ध दक्ष जनशक्तिको टीम तपाईको कंपनीका वास्तविक रणनीतिक समस्याहरुको पहिचान गर्न, त्यसको ए.आई. समाधान निकाल्न र कंपनीको ए.आई. सक्षमता अभिबृद्धि गर्न सहयोग पुर्याउन प्रतिबद्ध छ ।

ए.आईं.लाई सर्बसाधारणको पहुँचसम्म पुर्याउने हाम्रो अभियानको अर्को पाटो भनेको ए.आई शिक्षाको अवसरलाई विश्वब्यापी बनाउनु पनि हो । ठूलाठूला प्राविधिक कंपनीहरुमा ए.आई.का एप्लीकेसन (application) हरुको प्रयोग र उपयोगिता बढाएर हाम्रो दैनिक जीवनलाई ए.आई.को प्रयोगमा अझ अभ्यस्त बनाउन सक्षम आई.टी.इन्जिनियरहरुको खाचो रहेको छ ।

यस अभाबको परिपुर्तिका लागि हामीले संसारभरी नै प्रतिभाशाली इन्जिनियरहरुको खोजी गर्ने र उनीहरुलाई ए.आईं. संबन्धी ज्ञान सीपको पोषणको माध्यमबाट हुर्काई ए.आई.को अन्तराष्ट्रिय बजारमा ल्याउने काम हामीले गरिरहेका छौ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation