न्यादीको विद्युत् परिक्षणपछि पनि राष्ट्रिय प्रणालीमा जोडिएन

 अर्थ बुलेटिन   २२ फागुन, २०७८



लमजुङ । चिनियाँ लगानीमा निर्माण भएको माथिल्लो मर्स्याङ्दी ‘ए’ ले असहयोग गरेपछि लमजुङस्थित ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको विद्युत खेर गएको छ । आयोजनाको विद्युत् प्रवाहका लागि असहयोग गरेका कारण उपकरण तथा संरचनाको परीक्षणपछि पनि विद्युत् उत्पादन सुरु हुन नसकेको हो ।

सिनो हाइड्रो सगरमाथाले अनुमति नदिएकाले आयोजनाको विद्युत खेर गएको प्रवर्द्धक न्यादी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । उनले भने, 'उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न समस्या भएपछि एक महिनादेखि आयोजनाको विद्युत् खेर गइरहेको छ ।'

माथिल्लो मर्स्याङ्दी ‘ए’ को चिनियाँ कम्पनी सिनो हाइड्रोले सहमति नदिँदा लाइन जडान हुन नसकी बिजुली खेर गएको हो । आयोजनाको बिजुली २२० केभी मर्स्याङ्दी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सबस्टेसनमा जोड्ने गरी नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता छ । प्राधिकरणसँग सम्झौता गरिए पनि प्रसारण लाइन निर्माणमा ढिलाई हुँदा वैकल्पिक विद्युत् जडानस्थल खोज्नुपरेको हो ।

नेपाल विद्युत् प्राधिकरणले न्यादीको विद्युत् जोड्ने अनुमति दिन पत्राचार गरे पनि माथिल्लो मर्स्याङ्दी ‘ए’ को प्रवर्द्धक सिनो हाइड्रो सगरमाथाले मानेको छैन । आयोजनाका सबै उपकरणको परीक्षण भइसकेको न्यादीले खुदी सबस्टेसनको ६ किमि प्रसारण लाइन यसअघि नै बनाइसकेको छ । मर्स्याङ्दी ३ खुदी सबस्टेसनबाट मर्स्याङ्दी ८ लाम्पाटासम्म थप ३ किमि प्रसारण लाइन निर्माण गरिसकेको छ ।

आयोजना सम्पन्न गर्न करिब ६ अर्ब चार करोड २८ लाख रुपैयाँ खर्च हुने अनुमान छ । भुलभुले–मर्स्याङ्दी लाइनमा सिनो हाइड्रो सगरमाथाको ५० मेगावाट विद्युत प्रवाह भइरहेको छ । कोरोना संक्रमणका कारण लकडाउनका कारण आयोजनाको व्यवसायिक उत्पादन मिति सर्दै गएकोमा पछिल्लो समय जनवरी अन्तिमबाट उत्पादन थालिने तालिका थियो । आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरिरहेको छ ।

बुटवल पावर कम्पनी (बीपीसी)को ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को)को २ दशमलव ७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भइरहेको छ । आयोजनामा एभरेस्ट बैंकको नेतृत्वमा नविल बैंक, ग्लोवल आइएमई बैंक, हिमालयन बैंक, सनराइज बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीको लगानी छ ।

चैत २०७३ बाट निर्माण सुरु गरिएको आयोजनाको बाँध नाँइचेमाथि ङादी नदीमा बनाइएको छ । तीन हजार ८४० मिटर सुरुङबाट पानी ल्याएर ठूलीबेंसीबाट ताराचोक जाने बाटो ङादी नदी तिरमा बनाइएको विद्युतगृहबाट विद्युत् उत्पादन गरिनेछ । नदीको वहावमा आधारित यो आयोजनाबाट वार्षिक १ सय ६८ गिगावाट आवर विद्युत उत्पादन हुनेछ । आयोजनाले विद्युत् प्राधिकरणसँग प्रचलित ‘पोस्टेड’ दरअनुसार वर्षायाममा चार रुपैयाँ ८० पैसा र सुख्खायामका लागि आठ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ ।

न्युज कारखाना



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation