चौथो सातामा ‘महापुरुष’, दिवा तथा रात्री शोमा शतप्रतिशत अकुपेन्सी

 अर्थ बुलेटिन   २ मंसिर, २०७९



काठमाडौं । गत कात्तिक ११ गतेबाट प्रदर्शनरत फिल्म ‘महापुरुष’ चौथो सातामा प्रवेश गरेको छ । चौथो सातमा प्रवेश गर्दासमेत फिल्मले मल्टिप्लेक्समा दर्शकको राम्रो साथ पाइरहेको छ । 

दिवा तथा रात्री शोहरूमा शतप्रतिशत अकुपेन्सी पाइरहेको फिल्मको शोमा समेत कटौती भएको छैन । दर्शकको छाप यथावत रहेकै कारण मल्टिप्लेक्समा फिल्मको शो घट्न पाएको छैन । फिल्म हेर्ने आइपुगेका दर्शक सन्तुष्ट भएको प्रतिक्रिया पाउँदा कलाकारसमेत रहेका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ दंग छ ।

फिल्म हेर्न परिवार नै आउने गरेको हुँदा बिदामा झनै शो बढ्ने लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए । ‘शुक्रबार र शनिबार पाएको शोमा दर्शकको चाप बढ्दो छ । परिवार नै दर्शक बनेर आउने हुँदा प्रायः दिउसो र रात्री शोहरू हाउसफुल भइरहेका छन् । फिल्म हेरेर निस्किँदा दर्शकमा देखिएको सन्तुष्टि नै हाम्रो सफलता हो’, निर्देशक भट्टराईले भने ।

फिल्म युरोपमा २० नोभेम्बरबाट प्रदर्शन हुँदैछ । अन्य देशमा समेत तयारी छ । ‘फिल्मले पाइरहेको प्रतिक्रियाले विदेशमा डिमान्ड बढ्दो छ’, निर्माता दीपेश खत्रीले बताए । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा छन् ।

फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकाशप्राप्त शिक्षकमार्फत पिता र एलक पुरुषसँगै एक्लोपन कथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अस्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रूपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् ।

षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी गुरुङको सम्पादन छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रूपमा फिल्ममा डेब्यु गरेका छन् । 

चलचित्रले २१ दिनमा आठ कराेड आठ लाख रुपैयाँ ग्रस कलेक्सन गरेकाे निर्माण पक्षले जनाएकाे छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation