बगान हेर्दा सेन्सरमा सबैका आँखा रसाए : सुरेश वाग्ले

 अर्थ बुलेटिन   २७ असार, २०८०



काठमाडौं। आगामी शुक्रबार अर्थात् असार २९ गतेदेखि प्रदर्शन हुने फिल्म ‘बगान’ को जाँचपासका क्रममा त्यहाँ सेन्सर गर्न उपस्थित सदस्यको आँखा रसाएको निर्माता सुरेश वाग्लेले बताए । उनले सामाजिक सञ्जालमार्फत आफूसमेत भावुक बनेको जानकारी दिएका छन् । 'सेन्सर गर्न उपस्थितले फिल्म मन पराए । उनीहरूको मनसम्म पुगेको फिल्मले आँखामार्फत भावना व्यक्त गर्‍याे । उहाँहरुको आँखामा आँसु देख्दा म पनि भावुक भएँ', निर्माता वाग्लेले भने ।

यस्तै सो खुलेसँगै आफूलाई पायक पर्ने हल र सोमा दर्शकले अग्रिम टिकेट बुकिङ गर्न थालेकाछन् । पारिवारिक कथामा बनेको फिल्मको मंगलवबारनै खुलेको बुकिङमा दर्शकको चासो देखिएको छ । पारिवारिक कथामा निर्माण भएको फिल्मले एकल आमाको जीवन, संघर्ष, पारिवारिक र सामाजिक अपेक्षासँगै शिक्षाले जीवनमा ल्याउने परिवर्तनलाई प्रस्तुत गर्ने अभिनेता तथा डेब्यु निर्देशक सरोज खनालले बताए ।

'यो फिल्म एउटा परिवारका सम्पूर्ण सदस्यले हेर्न मिल्ने गरी बनाएका छौं । पूर्णरुपमा पारिवारिक फिल्म बनेको छ । साथै, युवापुस्ताको प्रेम कथा पनि छ', निर्देशक खनालले भने । यसमा नीर शाह, सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतको पनि अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो फिल्ममार्फत अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन् ।

नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता गीतकार सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।

ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको फिल्मका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।

‘मंगलवारदेखि नै काठमाडौँ र मोफसलमा समेत बुकिङ्ग खुलिरहेको छ । केहीमा खुलिसकेका छन् भने बुधवार साँझसम्ममा अधिकाँस सो खुलिसक्नेछन्’, वितरक करण श्रेष्ठले भने,’अग्रिम बुकिङ्ग मंगलवारदेखि नै खुल्नु हल संचालकले समेत फिल्म प्रति विश्वसनीयता देखाएका हुन् ।’



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation